सूचनाको शक्ति - The Power Of Information

        

काम खोज्दै एक लाख ८५ हजार युवा ‘मुग्लान’ भासिए


रविन्द्र घिमिरे । काठमाडौं । यस वर्ष काम खोज्दै विदेश जाने कामदारको संख्यामा कमि आएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा बिदेसिने कामदार संख्या करिब दुई प्रतिशत कम देखिएको छ । यस वर्ष पुससम्म एक लाख ८६ हजार ८२ नेपाली युवा काम खोज्दै बिदेसिएका छन् ।
यो संख्या गत वर्षको पहिलो ६ महिनामा एक लाख ८९ हजार ४३३ थियो । दुई वर्षको तुलना गर्दा यो संख्या करिब चार हजार कम हो । बिदेसिने महिला कामदारको संख्या भने बढिरहेको छ । कामदार संख्या सामान्य रुपमा घट्नु स्वाभाविक भएको वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउँछन् । ‘यो सुखद् कुरा हो । हाम्रा अदक्ष कामदार नै विदेश जाने हुन्,’ पण्डित भन्छन्, ‘उनीहरु बिदेसिएनन् भने यहाँ उत्पादकत्व बढ्छ ।’

कुन महिनामा कति उडे ?
यस वर्ष सबैभन्दा धेरै भदौमा ३३ हजार ८७८ कामदार बिदेसिएका थिए भने असोजमा सबैभन्दा कम २७ हजार ५३५ जना बाहिरिए । साउनमा ३१ हजार ३०९ जनाले देश छाड्दा कात्तिकमा ३१ हजार ७९६, मंसिरमा ३० हजार ८६३ र पुसमा ३० हजार ६६१ जना युवा ‘मुग्लान’ भासिए ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा नियमित उतारचढाव मात्र आइरहेको छ । ठूलो उतारचढाव नदेखिएकाले यस वर्ष समग्रमा बिदेसिने कामदारको संख्यामा ठूलै दरमा कमि नआउने विभागका अधिकारीहरुको विश्वास छ । गत आवमा विदेश जाने युवाको संख्यामा पाँच प्रतिशतले कमि आएको थियो । गत वर्ष तीन लाख ९८ हजार युवाले कामका लागि देश छाडेका थिए ।

आकर्षणमा मलेसिया
तथ्यांकअनुसार पछिल्लो समयमा साउदी अरेबिया नेपाली कामदारको रोजाइमा पर्न छाडेको छ । चालु आवको पहिलो ६ महिनामा २३ हजार ४८९ जना कामदार साउदी पुगेका छन् । गत वर्ष साउदीमा ७८ हजार युवा पुगेका थिए । अहिलेकै दर कायम रहे यस वर्ष साउदी नेपालीको चौथो श्रम गन्तव्य बन्ने देखिएको छ । दुई वर्षअघि मलेसियामा आर्थिक मन्दी छाउँदा साउदी अरेबिया नेपाली कामदारको पहिलो गन्तव्य बनेको थियो ।
अहिले आफैं आर्थिक मन्दीबाट गुज्रिरहेको साउदीमा जान नेपाली युवा लालायित छैनन् । त्यहाँका कम्पनीबाट पनि कामदारको माग घटेको म्यानपावर व्यवसायीहरु बताउँछन् । मलेसिया पनि नेपाली कामदारका लागि खासै राम्रो गन्तव्य मानिँदैन । तर, साउदी र कतारमा समस्या देखिएपछि नेपाली कामदारले मलेसिया नै अरुभन्दा उपयुक्त हुने मान्ने गरेको विज्ञ पण्डित बताउँछन् ।
‘मलेसियामा नेपाली कामदारलाई समस्या कम भएको छैन । तर, कतारमा महँगी बढेको र साउदीका कम्पनीहरुमै समस्या आएपछि मलेसिया नगए अन्त जान नपाइने भयो,’ उनी भन्छन्, ‘त्यसैले मलेसियामा कामदारको आकर्षण बढेको देखिएको हो ।’ पहिलो ६ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै नेपाली कामदार मलेसिया पुगेका छन् । पुससम्म ५९ हजार कामदारले वैदेशिक रोजगार विभागबाट मलेसिया जाने श्रम स्वीकृति लिएका छन् ।
अन्य खाडी मुलुकले नाकाबन्दी लगाउँदा पनि कतार जाने नेपालीको संख्या भने उत्साहजनक नै छ । पुससम्म ४८ हजार ९५७ कामदार त्यहाँ पुगेका छन् । यो अवधिमा ३१ हजार ६५८ कामदार संयुक्त अरब इमिरेट्स (यूएई)मा काम खोज्दै पुगेका छन् । पाँचौं मुख्य श्रम गन्तव्य कुवेतमा पुगेर सात हजार ७५१ जनाले जागिर खान थालेका छन् ।

बिदेसिने महिला बढे
चालु आवको पुससम्म विदेश जानेको महिलाको संख्या भने बढेको छ । यस वर्ष पुससम्म ११ हजार ५३० महिला वैधानिक रुपमा विदेशमा रोजगारीका लागि पुगेका छन् । गत वर्षको पुससम्म भने यो संख्या नौ हजार ४९१ थियो । यो अवधिमा कुल विदेशिने पुरुष र महिलाको अनुपात क्रमशः ९४ र ६ प्रतिशतमा छ ।
‘महिला कामदार वैधानिक रुपमा जाने क्रम बढ्नु सुखद् हो । अहिले धेरै देशमा अवैध रुपमा महिला घरेलु कामदार पुगिरहेका छन्,’ विज्ञ पण्डित भन्छन्, ‘महिला कामदारको वृद्धि पनि नियमित उतारचढावकै शृंखला हो ।’ –अनलाइन खबरबाट

प्रकाशित मिति : १० माघ २०७४, बुधबार ०६:३८