सूचनाको शक्ति - The Power Of Information

        

झारफुकको नाममा क्रूर यातनाः रड, पाइप र झाँझर तताएर डाम्दा एकको मृत्यु, दुई गम्भीर

काठमाडौं । रोग निको पार्ने भन्दै झारफुकको नाममा क्रूर यातना दिँदा गुल्मीमा बुधबार एकजनाको मृत्यु भएको छ ।

रड, पाइप र झाँझर तताएर डाम्दा दुईजना गम्भीर घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका–३ का ६४ वर्षीय रामबहादुर मुखियाको ज्यान गएको छ ।

उनका छोरा ३४ वर्षीय हुमबहादुर मुखिया र रेसुंगा नगरपालिका–५ की ४० वर्षीया टोपला दमाई गम्भीर घाइते भएकी छिन् । उनीहरूको गुल्मी अस्पतालमा सामान्य उपचारपछि पाल्पा रेफर गरिएको गुल्मी अस्पतालका प्रमुख डा।उत्तम पच्याले बताए । फलाम तताएर डामेकाले शरीरमा घाउ नै घाउ रहेको डा। पच्याले बताए ।

पीडित परिवारजनका अनुसार रामबहादुर ढाड दुख्ने समस्याले पीडित थिए । उनी धेरैपटक अस्पताल पनि पुगेका थिए, तर निको भएको थिएन । झारफुकबाट निको हुने सुनेका उनका दुई छोराले रामबहादुरलाई २५ पुसमा रेसुंगा नगरपालिका–१ उदिनढुंगा ल्याएका थिए ।

उदिनढुंगामा मालिका गाउँपालिका–६ अर्जेका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र ३६ वर्षीया शान्तिला श्रेष्ठले झारफुक गर्दै आएका थिए । झारफुकका लागि आएका रामबहादुरलाई श्रेष्ठ दम्पतीले चार दिनदेखि घरमै राखेका थिए ।

रेसुंगा नगरपालिका–५ की ४० वर्षीया टोपला दमाई पनि शरीर पोल्ने र झमझाउने भएपछि श्रेष्ठ दम्पतीको घरमा पुगेकी थिइन् । उपचारमा आएका उनीहरूलाई घरबार निस्कन दिएको थिएन ।

श्रेष्ठ दम्पतीले सुरुसुरुमा टाउकोमा जल, जौ र तिल छर्केका थिए भने सामान्य कुटपिट गरेको पीडितले बताए । उपचारमा आएकाले सन्चो नै हुने भएपछि कुटपिटलाई सामान्य ठानेको उनीहरू बताउँछन् ।

त्यसपछि टोपलासँग ११ हजार र रामबहादुरको परिवारसँग होम गर्ने सामग्रीका लागि भनेर १५ हजार मागेको रामबहादुरका छोरा कृष्णले बताए । बिरामीका परिवारले पैसा पनि दिए । तर, २८ पुस राति रामबहादुर, टोपला र हुमबहादुरलाई झारफुकको नाममा श्रेष्ठ दम्पतीले रड, पाइप र झाँझर तताएर डामेको कृष्णले बताए ।

उनीहरूमध्ये रामबहादुरको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीमा डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताए । ‘चार दिनदेखि विभिन्न धातु तताएर डाम्दै आएकाले मृतकको शरीर सबै डढेर नीलो भएको छ,’ डिएसपी पाण्डेयले भने, ‘घाइते दुईजनाको पनि शरीरका विभिन्न भागमा डढेका नीला डाम छन् ।’
घटनामा संलग्न रामप्रसाद र शान्तिलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेयले बताए । नयाँ पत्रिका

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार ०७:१०