सूचनाको शक्ति - The Power Of Information

        

प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा


बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको मूख्य आयोजनामा नेपालगन्जमा हुन गइरहेको प्रथम प्रादेशिक महोत्सव २०७४ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महोत्सव स्थलमै मंगलवार पत्रकार सम्मेलनको अयोजना गरी नेपालगन्जको सडक विभाग परिसरमा यही माघ ११ गतेदेखि २२ गतेसम्म संचालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । महोत्सवमा रहने ३२१ वटै स्टल बुकिंग भइसकेको अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए ।
महोत्सवको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने र सो क्रममा हेलिकोप्टरबाट पुष्पवर्षा गर्ने कार्यक्रम राखिएको महासचिव अजयकुमार टण्डनले जानकारी दिए । महोत्सवमा २६० वटा व्यवसायिक, ५ कृषि, ४ जडिबुटी, १४ अटोमोवाइल, २२ रेष्टुरेण्ट र १६ विदेशी स्टल रहने जनाइएको छ । महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन ख्यातीप्राप्त कलाकारहरुको दैनिक प्रस्तुती, बालउद्यान, विभिन्न समुदायको सांस्कृतिक झल्किने फेशन शो, नृत्य प्रतियोगितालगायतका कार्यक्रम राखिएको आयोजकले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा स्टल निर्माण समितिका संयोजक दुर्गा भण्डारीले स्टल निर्माण कार्य अन्तिम चरणमा पुगेको र महोत्सव अगावै सबै तयारी पूरा हुने बताए ।
उनले महोत्सव स्थलमा स्टल निर्माण, मञ्च, बालउद्यान र अन्य मनोरञ्जनका पूर्वाधार निर्माणको काम अन्तिम अवस्थामा पुगेको जानकारी दिए । उनका अनुसार पाकिस्तान, बंगलादेश, चीन, भारत लगायतका देशका लागि १६ वटा स्टल राखिएको छ । नेपाल सरकारबाट ५० वर्षका लागि भोगाधिकार प्राप्त सडक कार्यालय परिसरमा बहुउद्देश्यीय सभागृह निर्माण सहयोगार्थ महोत्सवको आयोजना गर्न लागिएकाले सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखिएको छ । आर्थिक समति संयोजक आदेशकुमार अग्रवाल महोत्सवको उद्देश्य आर्थिक संकलन मात्र नभई व्यापार प्रवद्र्धन समेत रहेको बताउँछन् ।
उनले बहुउद्देश्यीय सभागृह निर्माणका लागि करीब १ अर्ब रुपैयाँ लागत रहेकोले सरकारीस्तरबाट ठूलो सहयोगको अपेक्षा राखिएको र विगतका अर्थमन्त्रीहरुबाट आश्वासन प्राप्त भएको बताए । कृषि, जडिबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग, व्यापारको पवद्र्धन र रोजगारी, प्रादेशिक महोत्सवको चिनारी भन्ने मूल नारा बोकेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघ आयोजक र साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना, सहआयोजक रहेका छन् । कला, संस्कृति र उत्पादनको प्रदर्शनी गरी महोत्सवबाट करीब १ करोड मुनाफा आर्जन गर्ने लक्ष्य राखिएको छ । विभिन्न वस्तुगत संघ संगठनहरु संघका पूर्व नेतृत्व गरिसकेका उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको ७५१ सदस्यीय मूल आयोजक समिति निर्माण गरी महोत्सव सफल बनाउन लागिएको छ ।
महोत्सवलाई थप आकर्षक बनाउनका लागि राष्ट्रिय, स्थानीय कलाकारको प्रस्तुती रहनुका साथै पिंङ, बाल उद्यान तथा विभिन्न प्रकारका स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बस्तुको प्रदर्शनी रहने आयोजकले जनाएको छ । महोत्सवकै अवधीमा प्रदेश नं. ५ को आर्थिक सम्भावनाका विषयमा बहससमेत गरिने प्रचार संयोजक बसन्त लामिछानेले जानकारी दिए । महोत्सव अवधीभर फत्तेवाल अस्पतालको सहयोगमा निःशुल्क आँखा शिविरसमेत संचालन गरिने भएको छ । महोत्सवको २४ घण्टा सिसी टिभीबाट निगरानी हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७४, मंगलवार ११:३९