सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव

प्रदेश सरकार जोगाउन अन्य दलसँग सहकार्य गर्न ओलीको निर्देशन (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार जोगाउन अन्य दलहरुसँग सहकार्य गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिनिधि सभा विघटनलगत्तै आफ्नो समूहका कार्यकर्तालाई अन्तर पार्टी निर्देशन (अपानि) पठाउँदै ओलीले यस्तो निर्देशन दिएका हुन् ।

नेकपामा फुटपछि प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्तावले संघीयताप्रति जनताको विश्वास टुट्ने र संघीयता विरोधीलाई उत्साहित पार्ने काम गर्ने चिन्ता पनि अपानिमा व्यक्त गरिएको छ ।

‘यस्ता गलत क्रियाकलापहरूको विरोध गर्दै प्रदेशहरूको विशिष्ट परिस्थितिअनुरुप प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिरका सकारात्मक पात्र र शक्तिसंग आवश्यकता अनुसार समन्वय, परामर्श र सहयोग आदान प्रदान गर्ने । आवश्यकता अनुसार पार्टी केन्द्रमा परामर्श लिने,’ पुस २२ मा पठाइएको अपानिमा उल्लेख छ ।

प्रचण्ड–नेपाल समूहले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र बागमतती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेका छन् । राई र पौडेल दुवै ओली निकट छन् । प्रतिनिधिसभा विघटनपछि पार्टी जटिल अवस्थामा आइपुगेको अपानिमा उल्लेख छ ।

‘कम्युनिस्ट आन्दोलनभित्रको एउटा अवसरवादी, महत्वाकांक्षी र स्वार्थकेन्द्रित प्रवृत्तिका कारण निर्धारित समय अगावै प्रतिनिधिसभा विघटन हुने, नयाँ निर्वाचनमा जानु पर्ने र कम्युनिस्ट पार्टी एकीकरणको काम पुरा नहुँदै विभाजनको संघारमा उभिने जटिल अवस्था सिर्जना भएको छ,’ अपानिमा भनिएको छ ।

ओलीले आफ्नो नेतृत्वमा रहेको नेकपाको केन्द्रीय सदस्य संख्या पनि १५०१ पुर्याएका छन् । अपानि कार्यान्वयन भए यो संख्या अझै बढ्ने देखिन्छ । अपानिमार्फत उनले भइरहेको कमिटीबाट कसैलाई पनि नहटाउन र हाल रहेको कमिटीमा ५० प्रतिशत थप गर्न निर्देशन दिएका छन् । यो निर्देशन पूर्णरुपमा कार्यान्वयन भए केन्द्रीय कमिटीको आकार २२ सय ५१ पुग्ने छ ।

‘तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकताअनुसार कमिटीमा बढीमा ५० प्रतिशतसम्म सदस्य संख्या मनोनयनका लागि गृहकार्य गर्न,’ अपानिमा भनिएको छ । अपानिको बुँदा नम्बर ६ मा पार्टीभित्र देखिएको असहज अवस्थाका कारण त्यस्तो निर्देशन दिइएको उल्लेख छ । पुस ७ गते भएको ओली पक्षको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यको संख्या ४४७ बाट बढाएर ११९९ पुर्याएको जानकारी गराएका थिए ।

त्यसैगरी अध्यक्षको हैसियतमा ५४६ जनालाई केन्द्रीय कमिटीमा मनोयन गरेको जनाएका थिए । ‘केन्द्रीय कमिटीको यस बैठकले अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा मनोनित केन्द्रीय कमिटीका सदस्यहरूलाई अनुमोदन गर्ने निर्णय गरेको छ,’ अपानिमा भनिएको छ, ’अब पार्टी केन्द्रीय कमिटीको कुल सदस्य संख्या १५०१ भएको छ ।’

ओली पक्षको केन्द्रिय कमिटीको बैठक पुस ७ र ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । ओलीले केन्द्रीय कमिटीको आकार वृद्धि गरेको र सदस्य थप गरिएको बताएपनि हालसम्म नामावली औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी एकीकरण गरेपछि बनेका नेकपाका कमिटीहरु भद्दा भएको भन्दै आलोचना हुँदै आएको थियो ।

ओलीले कुनै पनि कमिटीमा प्रचण्ड–नेपाल समूहका व्यक्ति अध्यक्ष भए हटाउन समेत निर्देशन दिएका छन् । ‘कमिटीका अध्यक्ष यस अभियानको पक्षधर नभएको ठाउँमा सचिव भए उहाँको अगुवाइमा, अन्यथा पार्टीका जेष्ठ या वरिष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी पार्टी कामलाई गतिशील बनाउन,’ अपानिमा भनिएको छ, ‘एक तहमाथिको कमिटी वा संयोजक कमरेडको निर्देशनमा भावी नेतृत्वका बारेमा आवश्यक निर्णय लिने ।’

अन्तरपार्टी निर्देशन–६ (पूर्णपाठ)

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार ०८:०६