सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ को सभामुखमा आयामको दावी


बाँके । प्रदेश नम्बर ५ को सभामुखमा पूर्वी रुकुमबाट प्रदेश सभामा निर्वाचित माओवादी केन्द्रका नेता पूर्ण घर्तीमगर ‘आयाम’ले दावी गरेका छन् । आयामले मुख्यमन्त्री एमालेले पाउने अवस्थामा सभामुख माओवादीले पाउनु पर्ने धारणा व्यक्त गर्दै आफू दाबेदार भएको बताएका हुन् ।
‘माओवादी केन्द्रको पाँच नं. प्रदेशको संयोजक म हुँ, यो प्रदेशकोे सिनिएर भएकाले मेरो दावी हुनु स्वभाविक हो,’ उनले भने, ‘जातीय कलस्टर मिलाउँदा पनि सभामुख पद मैले नै पाउनुपर्छ ।’ पाँच नं प्रदेशको मुख्यमन्त्रीमा भने माओवादी केन्द्र र नेकपा एमालेका दुबै जना अध्यक्षले निर्वाचन अघि नै एमाले नेता शंकर पोखरेललाई अघि सार्ने सहमती गरिसकेका छन् ।
‘खस आर्य समुदायबाट मुख्यमन्त्री भइसकेपछि सभामुख जनजाति समुदायबाट हुनुपर्छ,’ आयामले भने, ‘हामी लगत्तै संसदीय दलको बैठक बसेर सबै कुरा टुंग्याउँछौं ।’ नेपालको दश वर्षे जनयुद्धमा रोल्पा रुकुमको भूमिका महत्वपूर्ण भएकाले अवसरको वाँडफाँट पनि त्यहि ढंगले हुनुपर्ने उनको भनाइ छ ।
‘एमालेले मुख्यमन्त्री पाएको अबस्थामा माओवादीले सभामुखसहित, गृह, अर्थ र पूर्वाधार मन्त्रालय पाउनुपर्छ,’ आयामले भने, ‘वाम गठबन्धनबीच सम्मानजनक पदको वाँडफाँट हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो ।’

प्रकाशित मिति : ९ माघ २०७४, मंगलवार ०९:०२