सूचनाको शक्ति - The Power Of Information

        

नेकपामा आधिकारिकता विवाद

निर्वाचन आयोगले पत्र पठाएपछि झस्कियो प्रचण्ड–नेपाल पक्ष

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले निर्वाचन आयोगले दलको आधिकारिकता माग दाबी गर्न भन्दै पठाएको पत्रलाई अस्वाभाविक र असान्दर्भिक भन्दै जबाफ पठाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आधिकारिकताको विवाद नै नरहेको भन्दै त्यसमा माग दाबी गरिरहन नपर्ने आशयको पत्र मंगलबार प्रचण्ड नेपाल समूहले आयोगलाई पठाएको हो ।

गत शुक्रबार आयोगले कानुनअनुसार प्रक्रिया पुर्याएर पार्टीको आधिकारिकता दाबी गर्न आउनु भन्ने व्यहोराको पत्र दाहाल–नेपाल पक्षलाई पठाएको थियो । दाहाल–नेपाल पक्षले आयोगले पठाएको पत्रको विषय कानुनअनुसार नमिलेकाले त्यो असान्दर्भिक भएको जनाएको छ । आयोगले प्रधानमन्त्री केपी शर्मा ओली तथा दाहाल–नेपाल पक्षलाई छुट्टाछुट्टै पत्र पठाएको थियो ।

दुवैतिर पत्रको व्यहोरा फरक छ । ओली पक्षसँग आयोगमा बुझाइएको विवरणका विषयमा स्पष्टता खोजिएको छ । त्यसका लागि कुनै समयसीमा निर्धारण गरिएको छैन । तर, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपालाई पठाएको पत्रमा भने राजनीतिक दलसम्बन्धी दफा ४४ अनुसारको प्रक्रिया पूरा गरेर सात दिनभित्र आधिकारिकता मागदाबी गर्न भनिएको छ ।

आयोगले फरक फरक व्यहोराको पत्र पठाएपछि प्रचण्ड नेपाल पक्ष झस्किएको छ । कुनै पनि पक्षबाट दलको आधिकारिकतालाई लिएर मागदाबी नआएपछि नेकपाको विवाद निरूपणको विषय थप पेचिलो बन्ने अवस्था आएको आयोग स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार ०९:३३