सूचनाको शक्ति - The Power Of Information

        

भारतमाथि प्रतिबन्ध लगाउँदै अमेरिका

एजेन्सी । रूसबाट एस–४०० हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली (एअर डिफेन्स मिसाइल सिस्टम) खरिद गर्न लागेको भारतमाथि अमेरिकाले प्रतिबन्ध लगाउने तयारी थालेको छ । अमेरिकी कंग्रेसले आफ्नो प्रतिवेदनमा यो विषय समावेश गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।

अमेरिकाले भारतलाई रक्षा नीतिमा व्यापक परिवर्तन गर्न र विदेशी प्रत्यक्ष विदेशी लगानी भित्र्याउन दबाब बढाइरहेको छ । कंग्रेसको स्वतन्त्र अनुसन्धान विभाग कांग्रेसनल रिसर्च सर्भिस (सीआरएस)ले सदनलाई बुझाएको प्रतिवेदनमा रूससँग प्रविधि साझेदारी र सह–उत्पादनतर्फ भारत निकै परस्त देखिएको आरोप लगाइएको छ ।

कंग्रेसका सदस्यहरूले तयार गरेको सो रिपोर्टमा भारतले रूसमा निर्मित एस–४०० क्षेप्यास्त्र प्रणाली खरिद गर्न अर्बौं डलर खर्चन लागेको उल्लेख गरिएको बताइएको छ । साथै, अमेरिकाको शत्रुविरोधी प्रतिबन्ध कानुन भारतमाथि लाग्न सक्ने चेतावनी दिइएको छ । सन् २०१८ अक्टोबरमा भारतले रूससँग पाँचवटा एस–४०० क्षेप्यास्त्र प्रणाली खरिद गर्न ५ अर्ब डलर बराबरको सम्झौता गरेको थियो ।

सो सम्झौता हुनुअघि नै ह्वाइटहाउसले नयाँ दिल्लीलाई यसो गरे अमेरिकी प्रतिबन्ध लाग्ने र त्यसका लागि तयार रहन चेतावनी दिएको थियो । एस–४०० खरिद गर्न भारतले सन् २०१९ मा रूसलाई ८० करोड डलर भुक्तानी दिइसकेको छ । रूसनिर्मित एस–४०० सबैभन्दा अत्याधुनिक क्षेप्यास्त्र प्रणाली हो । यो प्रणालीले निकै लामो दूरीसम्म मार हान्न सक्छ ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १४:५१