सूचनाको शक्ति - The Power Of Information

        

नेपालीको प्रश्न

देश नबन्नुमा जिम्मेवार को हो ?

देश नबन्नुको प्रमुख जिम्मेवार ‘म’ र ‘म’ जस्तै हरेक ‘म’हरू हुन्, ‘ऊ’हरू होइनन् ।

नेपाल किन बनेन, कसले बन्न दिएन र कसरी बन्छ ? यी प्रश्न अति नै गहन छन् । निष्कर्ष विहिन बहसको थालनी गर्नु हुँदैन भन्नेहरूका दृष्टिमा प्रश्नहरू जति बेकार लाग्दछन् हरेक कुराको निकास हुन्छ भन्नेका दृष्टिमा प्रश्न त्यत्तिकै महत्वपूर्ण पनि लाग्छन् । किन बनेन ? एउटा महत्वपूर्ण प्रश्न हो, नबन्नुको दोषी को ? भन्ने झनै महत्वपूर्ण प्रश्न हो र कसरी बन्छ ? भन्ने त अझ अति नै महत्वपूर्ण अको प्रश्न हो । त्यसैले यी प्रश्नहरूको उत्तर फरक फरक चाहिन्छ । नबन्नुको दोषी को हो ? त्यो नै किन बनेन ? भन्ने प्रश्नको उत्तर हुँदैन । न त कसरी बन्छ ? भन्ने कुरा नै किन बनेन ? को उत्तर हुन सक्ला ।

नबनेको हिजो हो बन्ने भोलि हो । हिजो जेजे कारणले नेपाल बनेन आज त्यही कारणहरूको निराकरणले मात्र नेपाल बन्दैन । हिजो नेपाल नबन्नुका कारण साना थिए । आज ठूला भैसके, हुन सक्छ अझै नेपाल बनाउने अभियानमा लागिएन भने ती काराणहरू अझ विकराल हुन सक्छन् । घाउको उपचार सानैमा गरेको भए सानो औषधीले हुने थियो । तर ठूलो भैसकेपछि ठूलै उपचार चाहिन्छ । विकराल नै भैसकेपछि त औषधीले पनि काम गर्दैन । नेपाल बन्न नसके पनि नेपाल कसरी बनाउने ? भन्ने सन्दर्भमा विचारको ओइरो लागेको देख्दा भने नेपाललाई गरिब नै भन्नु नपर्ने हो कि जस्तो देखिन्छ । नेपालले पनि विचारको महासागरमा पानी थप्न सक्छ, भन्ने कुरा नेपाल किन बन्न सकेन भन्ने सन्दर्भका विचारहरूले पुष्टि गरेको छ । संसार विचारको महासागर हो ।

जहाँ जतिधेरै विचार आउँछन । त्यो समाज त्यति नै धनी मानिन्छ । फेरि विचार विज्ञान यस्तो विज्ञान हो । जो विचारहरू चाहे ती विपरितधु्रवी नै किन नहुन् आफैँमा भने सत्य हुन्छन । मात्र विचारकले जुन दृष्टिले विचार राख्छ हेर्ने र बुझ्नेले पनि त्यही दृष्टिले हेर्नु र बुझ्नु पर्दछ । महात्मागान्धीले भनेका छन्, ‘तिम्रा लागि त्यही सत्य हो । जुन तिमी देख्छौ ।’ यस दृष्टिमा नेपाल किन बनेन भन्ने सन्दर्भमा आएका जे जति विचारहरू छन् । ती विचारहरू आफैँमा सत्य छन् । तर विचारणीय कुरा चाहिँ के हो भने देश बनाउने यतिधेरै विचार भएर पनि किन ती कामयावी भएनन् ? किन ती विचारहरू नेपाल बनाउने कुरामा फिट हुन सकेनन ? कतै फिट हुँदैनन् भने ती विचार के शब्दजाल मात्र हुन् त ? शब्दजाल मात्र त अवश्य होइनन् ? बरु बोक्रासहितका गुदी हुन् कि ?

नेपाल किन बनेन भन्ने सन्दर्भको बहस चाहिँ बोक्राको होइन गुदीको खोजी हो । सत्यमाथि पनि परमसत्यको खोजी हो । परमसत्यतामा पुगेपछि नै देश नबन्नुको सही कारण भेटिन्छ । रामायणमा हनुमान सम्बद्ध कथा छ । लक्ष्मण युद्धमा घाइते भएपश्चात रामले बुटी खोजी ल्याउन हनुमानलाई अहृ्राए । बुटी चिन्न नसकेका हनुमानले बुटी भएको पहाड नै ल्याएर रामका अगाडि राखिदिए । आखिर बुटी रामले नै पहिचान गर्नुपर्यो । नेपाल किन बनेन भन्ने सन्दर्भको बहसमा पनि जे जति विचार आएका छन । ती हनुमानका पहाड बनेर आएका छन । विचारको एकमुष्ट गर्ने हो भने यो एउटा पहाड हो तर त्यहाँ बुटी छ । मात्र पहिचान गर्न सक्नु पर्दछ । नेपाल किन बनेन भन्ने प्रश्नमा केही पूरक प्रश्नहरू अवश्य आउँछन । नेपाल आफैँ बन्न नसकेको हो कि ? अरुले बन्न नदिएको हो ? बन्न नदिएको हो भने त्यो बन्न नदिने को ? के बन्न नदिने शक्तिलाई मात्र निस्तेज पार्ने हो भने नेपाल आफै बन्छ त ? जस्ता बहसका बीचमा नेपाल किन बनेनको बहस अगाडि बढिरहेको छ ।

अहिलेसम्म मूलत: बहस कसरी बन्छ भन्दा पनि किन बनेनमै केन्द्रित छ । बन्न नदिने पात्र, प्रवृत्ति र परिस्थितिलाई औल्याउने काम पनि हुँदै नभएको होइन । तर बन्न नसक्नुको कारण र बन्न नदिनेको खोजी जति व्यापक बनेको छ बनाउन सक्नेको खोजी भने त्यति ब्यापक हुन सकेको छैन । कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भन्ने नेपाली उखान नै छ । जो जुन कित्तामा छन् तिनले त्यही कित्तामा बसेर बुद्धि प्रक्षेपण गर्दछन । यो बहसको सन्दर्भ पनि यसबाट अछुतो छैन । महिलाहरू भन्छन्, महिलाहरूलाई पछाडि पारिएकाले नेपाल बनेन, दलितहरू दाबी गर्छन् ? नेपाल नबन्नुको प्रमुख कारण नै जातिय विभेद हो । आदिबासी जनजातिका विचारमा आदिबासी समुदायलाई मूलधारबाट बाहिर पारिनु नै नेपाल नबन्नुको प्रमुख कारण हो । लेखक, पत्रकार, शिक्षाविद्, डाक्टर, इञ्जिनियर प्रश्न गर्छन् । विद्धान वर्गसँग सल्लाह नलिएपछि कसरी नेपाल बन्छ, मजदूर भन्छन् मजदूर र मालिक बीचको खाडल नै नेपाल नबन्नुको प्रमुख कारण हो ।

उद्योगपति भन्छन्, उद्योगधन्दाको वातावरण घुमिल हुँदा देश बिग्रियो । अर्थविद् भन्छन्, आर्थिक क्रान्ति नै भएन । सर्वसाधारण भन्छन्, शब्दमा क्रान्तिका कुराले देश बन्दैन । विद्यार्थी भन्छन्, अल्छी प्राध्यापकले देश विगारे । प्राध्यापक भन्छन्, अराजक विद्यार्थीले देशलाई समेत पछारे । राजनीतिज्ञ भन्छन्, जनता जिम्मेवार हुन सकेनन् । जनता भन्छन्, नेपाल नबन्नुको एकमात्र कारण राजनीतिक दल र दलका नेता मात्र हुन् । नेपाल नबन्नुको कारणका रूपमा आएका पहाड विचारमध्येका केही विचार यिनै हुन् । यी दाबीहरूमध्ये कुन चाहिँ दाबीलाई ठीक होइन भन्ने, सबैका दाबी आ–आफ्ना ठाउँमा ठीक छन । तर प्रश्न कहाँनेर छ भने महिला, दलित र जनजातिलाई पछि पार्ने, विद्वत् वर्गका कुरा नसुन्ने, मजदुर र मालिक बीच खाडल खन्ने, औद्योगिक वातावरण घुमिल बनाउने, आर्थिक क्रान्ति नगर्ने, प्राध्यापकलाई अल्छी र विद्यार्थीलाई अराजक बनाउने, जनतालाई जिम्मेवार नबनाउने, नेतालाई देश बिगार्ने चाहिँ को ? ‘ऊ’ ? ‘ऊ’ हो भने अनि त्यो ‘ऊ’ भन्ने पात्र चाहिँ को हो नि ? के त्यो ‘ऊ’ भित्र मचाहिँ पर्दिन ?

नेपालीहरूका केही मौलिक विशेषताहरू छन । अरुको कुरा काट्ने, अरुलाई दोष दिने, असन्तुष्टि व्यक्त गर्ने, हरेक कुरालाई नकारात्मक ठाउँमा लगेर टुंग्याउने जस्ता गुण नेपालीका पहिचानसँग जोडिन पुगेका छन । त्यसमा पनि दोष शतप्रतिशत अरुलाई दिने र जस जति शतप्रतिशत आफ्नो भनी दाबी प्रस्तुत गर्ने प्रवृत्ति आमनेपालीको रोगको रूपमा मौलाउँदै जान थालेको छ । नेपाल किन बनेन भन्ने सन्दर्भमा पनि जे जति विचारहरू आएका छन । त्यसमा मूलतः दोषी अरुलाई नै देखाउन खोजिएको छ । तर त्यो ऊ वा अरुभित्र आफूलाई पनि समाहित गर्ने साहस कसैले पनि गरेको छैन । दोषी हामी हौँ भन्नेसम्मका अपवाद देखिए पनि ‘म’लाई दोषबाट उन्मुक्ति दिने प्रयास प्राय सबै विचारकहरूबाट भएको छ ।

अपजस अरुको भागमा र जस आफ्नो भागमा अंशवण्डा गरेर नेपाल कहिल्यै बन्दैन । त्यसैले अपजसको जिम्मेवारी आफू लिने र जस अरुलाई दिने संस्कृतिको विकास हुनुपर्दछ । म एकजनाले गरेर के हुन्छ ? भन्ने लघुताभाष र जिम्मेवारीबाट पञ्छिने रोग नै नेपाल नबन्नुको मूल जड हो । मूल जरोलाई छोडेर हाँगा र पाततिर दौडिएर कसरी नेपाल बन्ला ? अब देश बनाउने हो भने ‘ऊ’ बाट बन्ने आसा गर्ने होइन ‘म’बाट बनाउन सुरु हुनुपर्छ । मेरो शौचालयदेखि लिएर बेड, कोठा, घर, टोल, जिल्ला, क्षेत्र र देश अरु कसैले बनाएर बन्दैन मैले बनाएमात्र बन्छ । त्यसैले देश नबन्नुको प्रमुख जिम्मेवार ‘म’ र ‘म’ जस्तै हरेक ‘म’हरू हुन्, ‘ऊ’हरू होइनन् । (लेखक राष्ट्रिय युवा संघ नेपाल बझाङ्ग जिल्ला कमिटी सदस्य हुन् ।)

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ०८:५०