काठमाडौं । साउदी अरबियाले कतारमाथिको नाकाबन्दी हटाउँदै सिमा नाका खुला गर्ने भएको छ । यसका लागि सहमति जुटेको अर्को खाडी मुलुक कुवेतले जानकारी दियो । साउदी अरबियाले साँढे ३ वर्षदेखि कतारमाथि नाकाबन्दी लगाएको थियो ।
उसले कतारमाथि ब्यापार, यात्रा र कुटनीतिक सम्बन्ध विच्छेद गरेको थियो । कतारले इस्लामिक अतिवादीहरुलाई प्रायोजन गरेको आरोप लगाउँदै साउदीले ऊ विरुद्धको नाकाबन्दीको नेतृत्व गरेको थियो । साउदीको कदमलाई खाडीका अन्य मुलुकहरु युएई, बहराईन र इजिप्टले पनि साथ दिएपछि सानो तर सम्पन्न मुलुक कतार घेराबन्दीमा परेको थियो ।
लामो प्रयासपछि आपसी विवाद मत्थर गर्न साउदी तयार भएको हो । कुवेतका अधिकारीहरुका अनुसार साउदीले कतारसँगको जमिन र समुद्री नाका खुलाउने सहमति जनाएको छ । साउदी अरबीयामा आजबाट खाडी सहकार्य परिषदको सम्मेलन सुरु हुँदैछ । यसैको पूर्वसन्ध्यामा सहमतिको खुलासा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो सम्मेलनमा साउदीका राजा सलमान, कतारका अमीर तमिम बिन हमद अल थानीलगायतका नेताहरु सहभागी हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नाकाबन्दी फुकुवाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कुवेत र अमेरिकी प्रशासनका केही अधिकारीहरु पनि सम्मेलनमा सहभागी हुनेछन् । एजेन्सी
सत्यपाटी ।