सूचनाको शक्ति - The Power Of Information

        

बझाङका सबै स्थानीय तहमा ‘सुरक्षित मातृत्व कार्यक्रम’

बझाङ । बझाङ जिल्लामा मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने भएको छ । सुदूरपश्चिम प्रदेशमा विभिन्न कारणले मातृ मृत्युदर बढी हुने भएका कारण त्यसमा कमि ल्याउन सो कार्यक्रम सञ्चालन हुने भएको हो ।

उक्त कार्यक्रमले बाटोमा घरमा र स्वास्थ्य संस्थामा हुने मातृ नवजात शिशु मृत्युदरलाई शुन्यमा झार्ने लक्ष्य लिएको छ । बझाङ जिल्लामा गत आर्थिक बर्ष २०७६÷०७७ मा मातृ मृत्युदर शुन्य भए पनि नवजात शिशु मृत्युदर २६ जना रहेको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सरकारले जनताको स्वास्थ्यमा ध्यान दिने उदेश्यले कार्यक्रम सञ्चालन हुन लागेको र ज्ञानको कमीका कारण गर्भवती र सुत्केरी अवस्थामा कस्तो खानेकुरा खाने भन्नेमा ध्यान नदिएकाले महिलालाई समस्या हुने गरेको र हरियो सागपात, उखु पानी समेत कम खाने गरेको बताए ।

अहिले पछिल्लो समयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत धेरै जना गर्भवती तथा सुत्केरी महिलाहरुको हेलिकप्टरमार्फत ज्यान जोगिएको बताए । बुंगल नगरपालिकाका मेयर धनबहादुर विष्टले, विगतका बर्षहरुमा फागुनदेखि जेठसम्म धेरै बच्चाको मृत्यु भए पनि बझाङमा पछिल्लो समयमा धेरै कमि आएको र नगरपालिकाले एम्बुलेन्ससमेत ल्याएपछि महिलाहरुका लागि थप सहज भएको पनि बताए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले सुदूरपश्चिममा महिलामाथि भेदभाव हुने गरेको बताए । खोपको राम्रो व्यवस्था भए पनि अबको ६ महिनाभित्र कोभिडको खोप आउने भएकाले स्थानीय सरकारले पनि त्यसको तयारीका लागि लाग्नुपर्ने र भ्याक्सिन राख्नका लागिसमेत समस्या हुने बताए ।

बझाङ जिल्लाका १२ ओटै स्थानीय तहमा रहेका सबै स्वास्थ्य संस्थामा कार्यक्रम नियमित सञ्चालन हुने स्वास्थ्य कार्यालय बझाङका परिवार नियोजन निरिक्षक डिल्ली जोशीले बताए । उनले १२ देखि ५५ बर्षभित्रका गर्भवती र सुत्केरी महिलाको मृत्यु भएका कारण खोजेर आगामी दिनमा कुनै पनि महिलाको मृत्यु नहोस् भन्ने उदेश्यले यो कार्यक्रम लागु गरिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ०८:०७