सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीको विशेष अधिवेशन आज, कार्यसूची बनेन

काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज (मंगलबार) सुरु हुँदैछ।

प्रदेशसभा स्थापना भएपछि पहिलोपटक हुन लागेको अधिवेशन दिउँसो १ बजे पोखरा सभागृहमा हुने तय भएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी जनता समाजवादी पार्टीको आग्रहमा विशेष अधिवेशन हुन लागेको हो।

आज दिउँसो सुरु हुने विशेष अधिवेशनमा पेस हुने विषयवस्तुका बारेमा कार्यसूची भने तय भएको छैन।

कार्यसूची बनाउन सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुट्न सकेको छैन।

प्रतिपक्ष दलका सांसद संकल्प प्रस्तावमा रहेका र सत्तापक्ष सार्वजनिक महत्वको प्रस्तावका पक्षमा रहेकाले कार्यसूचीमा सहमति नजुटेको हो। यसका लागि आज बिहान ११ बजे फेरि बैठक बस्दैछ ।

कोरोना नियन्त्रण गर्न नसकेको, महंगी र बेरोजगारी अस्वभाविक रुपमा बढेको, विकास निर्माणका काम ठप्प भएको लगायत एजेन्डा देखाएर प्रमुख प्रतिपक्षी दलले विशेष अधिवेशन बोलाउन माग गरेका हुन्।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ०७:५९