सूचनाको शक्ति - The Power Of Information

        

पिएम कप महिला क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेटमा आज फाइनल खेल हुँदैछ। दाङको देउखुरी क्रिकेट मैदानमा आज उपाधिका लागि प्रदेश १ र शसस्त्र प्रहरीको एपीएफ भिड्ने छन्।

प्रतियोगिताको साविक विजेतासमेत रहेको एपीएफ समूह ‘ए’ को विजेता हो भने प्रदेश १ समूह ‘बी’ को। दुबै टोलीले प्रतियोगितामा अपराजित रहँदै फाइनलको यात्रा तय गरेका हुन्।

शनिवार भएको सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपीएफले समूह ‘बी’ को उपविजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह ‘बी’ को विजेता प्रदेश १ ले समूह ‘ए’ को उपविजेता लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको थियो।

प्रतियोगितामा ८ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’ मा शसस्त्र प्रहरीको एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका थिए। त्यस्तै समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका थिए।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ। त्यस्तै उप -विजेता टोलीले ३ लाख र सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन्।

यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन्। खेल आज दिउँसो ११ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १९ पुष २०७७, आइतवार ०८:०६