सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवादः

प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

दिउँसो ३ बजे पत्रकार सम्मेलन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित बनेको प्रचण्ड–नेपाल सहूले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको हो ।

नेकपाल प्रचण्ड–नेपाल समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । प्रवक्ता श्रेष्ठले आज समितिको बैठक बसेर दिउँसो ३ बजे आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो ।

आन्दोलनका कार्यक्रम वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने बताइएको छ । जनपरिचालन गर्दा चुनाव भइहाले त्यसको लाभ लिन पनि सकिने नेकपाको ठम्याई छ ।

प्रचण्ड–नेपाल समूहले संघर्षका लागि प्रदेश र जिल्लास्तरमा समिति गठनको काम सुरु गरिसकेको छ । पहिलो चरणको आन्दोलन अन्तर्गत सो समूहले पुस १४ गते काठमाडौँ उपत्यकासहित देशभर प्रदर्शनका साथै विरोध सभा गरेको थियो ।

अन्य दलसँग संयुक्त संघर्षका कार्यक्रमको प्रतिक्षामा रहेको सो समूहले अन्य दल तत्काल सहमत नभए पछि आज एकल रुपमा आन्दोलनका कार्यक्रम ल्याउन लागेको हो ।

दाहाल–नेपाल समूहले बुधबार नै दोस्रो चरणको आन्दोलन घोषणाको तयारी गरेको थियो । प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाहाल–नेपाल समूह रूष्ट बनेको छ ।

प्रकाशित मिति : १८ पुष २०७७, शनिबार ११:५४