सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौं  । नेपाली कांग्रेसले बिहीबार (आज) ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ ।

पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।

यसै सन्दर्भमा कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै छ । वि.स. २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएसँगै तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो ।

राजा महेन्द्रको निर्देशनमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर नेताहरुमाथि देशद्रोहको मुद्दासमेत चलाइएको थियो ।

वि.स २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भएपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।

त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए ।

सोही दिनको स्मरणमा आज मेलमिलाप दिवस मनाउन लागिएको हो ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार ०८:५५