सूचनाको शक्ति - The Power Of Information

        

वन्यजन्तुको अवैध शिकार

कहाँ छन् चित्तल मारेर फरार रामु वली ?

गत असोज २० गते मारेको चित्तलसहित पक्राउ परेका दुई जनालाई सार्वजनीक गर्दै बाँके प्रहरी ।

बाँके । जंगली जनावर (चित्तल) मारेर फरार रहेका रामु वलीलाई बाँके प्रहरीले साढे दुई महिनासम्म पनि पक्राउ गर्न सकेको छैन । राप्तीसोनारी गाउँपालिका–६ ढलैयाका रामु वलीसहितको समूहले गत असोज २० गते राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोक नजिकै चित्तल मारेका थिए ।

मारेको चित्तलसहित भे ८ प ५४६५ नम्बरको मोटरसाइकलमा प्रहरीले राप्तीसोनारी गाउँपालिका–६ का २३ बर्षिय सामेल रोका र नेपालगन्ज उपमहानगरपालिका–६ का २८ बर्षिय अन्जन हमाललाई डुडुवा गाउँपालिका–४ राप्तीनदी पुल नजिकैबाट पक्राउ परेको थियो । चित्तल मार्ने रामु वलीलाई भने हालसम्म फरार रहेका छन् ।

झण्डै २६ केजीको पोथी चित्तल मार्ने रामु वलीबाट ११ हजार रुपैयाँमा रोका र हमालले खरिद गरी गत असोज २० गते राती साढे ९ बजेतिर नेपालगन्ज आउँदै गर्दा पक्राउ परेका थिए । पक्राउ परेका रोका र हमाललाई प्रहरीले डिभिजन वन कार्यालय बाँकेमा बुझाएको थियो ।

रोका र हमालविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा चलिरहेको डिभिजन वन कार्यालय बाँकेका प्रमूख राजु क्षेत्रीले बताए । उनका अनुसार चित्तल मार्ने मुख्य व्यक्ति रामु वली भने हालसम्म फरार रहेका छन् । डिभिजन वन कार्यालयले नै मुद्दा हेर्न भएकाले फरार वली पक्राउ परे नपरेको बिषयमा प्रहरीलाई जानकारी छैन ।

बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुभाष खड्काले भने, ‘हामीले पक्राउ परेलगत्तै ती व्यक्तिलाई वन कार्यालयमा बुझाएका हौं । वन कार्यालयले नै पक्राउका लागि हामीसँग सहयोग मागेमा हामीले सहयोग गर्ने हो । मुद्दा वनले हेर्ने भएकाले थप कारबाही र अनुसन्धानका विषयमा हामीलाई जानकारी छैन ।’

शिकारीहरु बेला–बेलामा पक्राउ पर्ने गरे पनि बाँकेमा वन्यजन्तुको शिकारी र तस्करी रोकिएको छैन । शिकारीहरु खुलेआम बन्दुक बोकेरै राष्ट्रिय तथा सामुदायिक वनमा जंगली जनावरको शिकार गर्दै आएको भए पनि प्रहरी प्रशासनले शिकारीहरुलाई कारवाहीको दायरामा ल्याउन छैन ।

गत असोज २० गते मारेको चित्तल सार्वजनीक गर्दै बाँके प्रहरी ।

लाइसेन्स बिनाका बन्दुक बोकेर शिकार हुँदासमेत प्रहरी प्रशासनले उल्टै संरक्षण गरिरहेको नरैनापुरका एक स्थानीयले सत्यपाटीलाई बताए । ठूलाबडाकै संरक्षणमा बाँकेका वनहरुमा वन्यजन्तुको चोरी शिकार भइरहेको छ । शिकारीले जंगलमा बँदेलमात्रै हाइन कालिज, मृग, घोरल लगायतको शिकार पनि गर्ने गरेका छन् ।

राप्तीसोनारी र नरैनापुरका धेरैजसो जंगल क्षेत्रतिर नयाँ नयाँ शिकारीहरु जंगलभित्र क्याम्प बनाएरै बस्ने गरेको पनि ती क्षेत्रका स्थानीयको दावी छ । ‘शिकारीहरु शिकार खेल्न बन्दुक, भाला, खुकुरी र राशनसहित लिएर जंगलभित्रै क्याम्प बनाएर बस्छन्,’ सत्यपाटीसँगको कुराकानीका क्रममा नरैनापुरका स्थानीयहरुले भने ।

प्रहरी प्रशासनकै संरक्षणमा ती क्षेत्रमा खुलेआम चोरी शिकारी भइरहेको स्थानीयहरु बताउँछन् । शिकार खेल्न स्थानीयवासीको समूह एक–दुई हप्तासम्म जंगलमा नै बस्ने गर्छन् । जंगलमा गएर भरुवा बन्दुकको प्रयोग तथा अन्य पासोको समेत प्रयोग गरेर जनावर मारिन्छ । कसैले कुकुरहरू प्रयोग गरेर मृगको शिकार गर्ने गरेका छन् ।

वन्यजन्तुको शिकार गरी जिल्लाका प्रशासक तथा केही पत्रकारहरुलाई पुर्याउनेदेखि नेपालगन्जका केही होटल तथा रेष्टुरेण्टहरुमा बँदेलको मासु विक्री गर्ने गरेको पाइएको छ । राप्तीपारिका जंगलमा विशेषतः बँदेल, चित्तल, मृग, रतुवा, जरायो लगायतका जंगली जनावरहरुको शिकार हुने गरेको छ ।

शिकारीले जंगली जनावर हिँड्ने गौडामा पासो वा जाल थापेर मार्ने, खाल्डो खनेर खाल्डोमा पार्ने, भरुवा बन्दुकले मार्ने, शिकारी कुकुर प्रयोग गर्ने, लखेटेर मार्ने लगायतका तरिका अपनाउँछन् । जंगली जनावरको मासु प्रतिकेजी ८ सयदेखि १२ सय रुपैँयासम्ममा खरीद गर्ने गरेको नेपालगन्जका एक जना कटेजका मालिकले बताए ।

राप्तीपारि क्षेत्रमा प्रहरी प्रशासनकै संरक्षणमा वन्यजन्तु तस्करीमात्रै नभएर नुनदेखि सुनसम्म तस्करी हुने गरेको स्थानीयको दावी छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा २६ (क) बमोजिम संरक्षित पंक्षी तथा वन्यजन्तुको शिकार गर्नेलाई पाँचदेखि १५ वर्षसम्म कैद र नगद ५० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार ११:४८