सूचनाको शक्ति - The Power Of Information

        

वरिष्ठ अर्थशास्त्री तथा लेखक गोविन्द लोहनीको निधन

काठमाडौं ।  वरिष्ठ अर्थशास्त्री, लेखक तथा पूर्व कूटनीतिज्ञ गोविन्द लोहनीको निधन भएको छ । ९३ वर्षका लोहनीको उपचारको क्रममा शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको हो ।

विगत दुई महिनादेखि स्वासप्रस्वास सम्बन्धी समस्याका कारण उनलाई अस्पताल भर्ना गरेर उपचार गरिँदै आएको थियो । तर शनिबार राति ९ बजेर ५० मिनेट जाँदा पिताको निधन भएको छोरा कपिल लोहनीले जानकारी दिएका छन् ।

नेपाली राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लोहनको आइतबार बिहान साढे १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कारको तयारी छ ।

गोविन्द लोहनीको विसं १९८५ को भाइटिकाका दिन जन्म भएको थियो । उनले पाकिस्तानका लागि नेपाली राजदूतका रुपमा पनि काम गरेका थिए ।

अर्थशास्त्र र माक्सवादी लेखनमा प्रखर लोहनीले संस्कृति, दर्शन र साहित्यका विभिन्न विधामा पनि कलम चलाएका छन् । २००८ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाले सम्पादन गरेको युगवाणीमा पनि उनको सिर्जना प्रकाशित भएको थियो ।

हालै ९३ औँ जन्मोत्सवको अवसरमा उनको पछिल्लो कथा संग्रह नेतृत्वको भोक र अन्य कथा प्रकाशित भएको थियो ।

डिल्लीबजारका बासिन्दा लोहनीका तीन छोरा र एक छोरी छन् । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापनामा पनि उनको भूमिका छ । केन्द्रीय बैंकको स्थापना तथा त्यसको अनुसन्धानमा पनि लोहनीले विशेष काम गरेका थिए ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार ०९:१६