सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा मौलाउँदै तस्करी

भारतबाट ‘भेली’ तस्करी, सशस्त्र प्रहरीलाई मासिक चार हजार ‘नजराना’

‘नुनदेखि सुनसम्म’ तस्करी हुने नरैनापुरमा सशस्त्र प्रहरीको गज्जबको सेटिङ्ग छ । सशस्त्र प्रहरी आपराधिक गतिविधि र चोरी तस्करी रोक्नुभन्दा असुलीतिर बढी केन्द्रीत देखिएको छ ।

बाँके । बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । यो क्षेत्रमा नेपाल–भारत जोड्ने साना ठूला बाटाहरु छन् । जसमध्ये कुनै मुख्य नाका छन् भने कुनै छोटी नाका छन् । बाँके जिल्लामा सशस्त्र प्रहरी बलका सीमा सुरक्षा कार्यालय छन् । सीमामा सशस्त्र प्रहरीको उपस्थिति राम्रै छ ।

बाँकेमा कटकुइँया, नरैनापुर, गंगापुर, कालाबञ्जार, बढैया लगायतका सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (विओपी) छन् । सी विओपीहरु सीमा क्षेत्रमा प्रभावकारी गस्ती र सीमा अपराध नियन्त्रणमा क्रियाशिल हुनुपर्ने हो । तर नेपालतर्फ सशस्त्र प्रहरीकै सहयोगमा अवैध सामानको चोरी पैठारी मौलाएको छ ।

सशस्त्र प्रहरी आपराधिक गतिविधि र चोरी तस्करी रोक्नुभन्दा असुलीतिर बढी केन्द्रीत देखिएको छ । बाँकेको खुला सीमाबाट दुवैतर्फ चोरी, तस्करी हुने गरेको छ । सीमा क्षेत्रमा सामान्य नागरिकलाई वारपार गर्न अझै पनि कठीन छ, तर तस्करका लागि सहज छ । नरैनापुरकै सीमा क्षेत्र भएर केराउ तस्करी हुँदै भारत निर्यात हुन्छ ।

‘दिउँसोमा सशस्त्रले निकै कडाई गरिरहेका हुन्छ, साँझ पर्दै जाँदा तस्करसँगको सेटिङ्गमा सशस्त्र प्रहरीले विस्तारै अवैध सामान भित्रिन दिइरहेको हुन्छ,’ नरैनापुर–१ कटकुइँयाका एक जना स्थानीयले सत्यपाटीसँग भने, ‘हामीलाई सीमा वारपार गर्नु त्यति सजिलो छैन । तस्करलाई भने पानी पँधेरोजस्तै हो । चाहे राती नै किन नहोस् ।’

‘नुनदेखि सुनसम्म’ तस्करी हुने नरैनापुरमा सशस्त्र प्रहरीको गज्जबको सेटिङ्ग छ । कटकुइँया, नरैनापुर, गंगापुर, कालाबञ्जार, बढैया लगायतका सीमामा रहेका सशस्त्र प्रहरीका विओपीलाई तस्करहरुले मासिक नजराना ‘लाइन’ बुझाएर पनि मात्रै तस्करको अवैध सामानले सीमाबाट सहजै आयात निर्यातको छुट पाउँछ ।

‘मासिक नजराना नबुझाएमा सामान सशस्त्रको नियन्त्रणमा जान्छ,’ एक जना स्थानीयले भने, ‘सशस्त्र प्रहरीलाई मासिक चार हजार रुपैयाँसम्म बुझाउनुपर्छ ।’ सुर्तीजन्य पदार्थको अवैध ओसारपसार भइरहेको नरैनापुरका सीमा क्षेत्रबाट अहिले सशस्त्र प्रहरीलाई नजराना ‘लाइन’ बुझाएरै भारतबाट नेपालतर्फ ‘भेली’को तस्करी भइरहेको छ ।

यहाँ घरेलु मदीरा बनाउन भेलीको माग अत्याधिक रहेपछि भारतमा सस्तो मूल्यमा पाइने भेलीको तस्करी मौलाएको नरैनापुर–५ मटेहियाका एक जना स्थानीयले भने । सशस्त्र प्रहरीलाई नजराना बुझाएपछि भारतबाट भेली ल्याउन कहिँकतै रोकटोक हुँदैन । हिजोमात्रै नेपाल प्रहरीले तीन क्वीन्टल भेली नियन्त्रिणमा लिएपछि सशस्त्रको नयाँ धन्दा बाहिर आएको हो ।

हिजो (शुक्रबार) दिउँसो होलिया नाका भएर राप्तीसोनारी गाउँपालिका–७ को गेदवातर्फ तस्करी भइरहेको तीन क्वीन्टल भेली र एक क्वीन्टल मङ्गुर माछा इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले नियन्त्रणमा लिएपछि नरैनापुरस्थित सशस्त्र प्रहरीका विओपीमा कार्यरत सुरक्षाकर्मी र तस्करबीच हुने गरेको सेटिङ्गको धन्दा बाहिर आएको हो ।

यहाँका ग्रामीण बस्तीहरुमा धरेलु मदिरा बनाउनका लागि भेलीको तस्करी निकै फस्टाएको छ । तस्करहरुबाट मासिकरुपमा मोटो रकम पैसा असुल्दै नेपालतर्फ अवैधरुपमा भेली तस्करी भइरहेको छ । सीमा क्षेत्रबाट हुने तस्करीको चाँजोपाँजोको सबै व्यवस्थापन सशस्त्र प्रहरीका विओपी इन्चार्जहरुले मिलाउँदै आएका छन् ।

सीमामा खटिएका सशस्त्र प्रहरीकै सेटिङ्गमा दैनिक करोडौंको सामान अवैद्यरुपमा नेपाल आयात हुने गरेको यसले पनि पुष्टि गर्छ । नेपाली बजारमा भारतीय सामान सस्तोमा किन्न पाइने भएपछि सशस्त्र प्रहरीसँगको सेङ्गिमा तस्करी मौलाउँदै गएको स्थानीयहरुको भनाई छ । नरैनापुरका नाकामा सशस्त्र प्रहरीकै सेटिङ्गमा तस्करहरुले अवैधधन्दा चलाइरहेका छन् ।

नेपालगन्जको मुख्य नाका जमुनाहामा कडाइ गरिएपछि तस्करहरुको समूहले अन्य नाकामा सशस्त्र प्रहरीको सेटिङ्गमा अवैध धन्दालाई चलाई रहेका छन् । त्यसो त सशस्त्र प्रहरीकै सेटिङ्गमा नरैनापुर क्षेत्रका विभिन्न नाकाबाट सुपर पावर सुर्ती, कोरेक्स, भेली, माछा, मासु, जिउँदो ब्रोइलर खुकुरा अवैधरुपमा नेपाल ल्याउने गरिएको छ ।

सीमामा रहेका सशस्त्र प्रहरीका युनिटहरुलाई मासिक नजराना ‘लाइन’ बुझाएर काम गरिरहेको तस्करहरु बताउँछन् । सशस्त्र प्रहरीको गंगापुर बिओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्रबहादुर जिसी सत्यपाटीको सम्पर्कमा आउन चाहेनन् भने नरैनापुर बिओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक नरेश बाटाले सशस्त्रको त्यस्तो कुनै सेटिङ्ग नभएको बताए ।

उनले आफूहरुले चोरी तस्करी रोक्न नियमित गस्ती गरिरहेको पनि जानकारी दिए । तस्करहरुले अवैध सामान तस्करीको काम रातिराति गरिरहेका हुन्छन् । सानातिना पोके ब्यापारी भने दिउँसै ओसारपसार गर्छ । सशस्त्र प्रहरीको सेटिङ्गमै तस्करहरुले मोटरसाइकल, टेम्पो र पिकअप गाडीबाट सामान नाका कटाउँदै आएका छन् ।

इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले सीमा क्षेत्रबाट तस्करी हुन नदिन प्रहरीले निकै कडाई गरिरहेको बताए । उनले भने, ‘हामी सूचना पाएपछि एक्सनमा जाने गरेका छौं । अपराधिक कार्य हुन नदिन हामीले सकेसम्म सक्रियता बढाएकै छौं । त्यसैको परिणामस्वरुप हामीले एकैदिन तीन क्वीन्टल भेली पनि नियन्त्रणमा लिएका हौ ।

इन्चार्ज प्रहरी निरीक्षक गौतमले नेपाल प्रहरीले तस्करी नियन्त्रणमा लिनका लागि कुनै कसर बाँकी नराखेको बताए । उनले भने, ‘गलत र अवैध कामहरु हुन नदिन प्रहरी चनाखो छ, हामीले हाम्रीसँग भएको जनशक्तिलाई अधिकतम परिचालन गरेर सक्रिय गराइरहेका छौं । हाम्रो पहुँच पुगेसम्म हामी लागिपरेकै छ ।’

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार १३:०६