सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटन प्रकरण

ओलीले लोकतन्त्रको हत्या र संविधानको अपहरण गरे : प्रचण्ड

ओली गणतन्त्र र संघीयता विरोधी व्यक्ति : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको हत्या गरी संविधानको अपहरण गरेको आरोप लगाएका छन् ।

आज शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले निर्मम तरिकाले लोकतन्त्रको हत्या गर्न खोजिएको बताएका हुन् । उनले प्रधानमन्त्री केपी ओली अध्यक्ष समूहको नेकपाले नेकपाको लोगो, नाम, चिन्ह केही पनि पाउने आधार नरहेको पनि दाबी गरे ।

‘हामीले पार्टी एकता गर्दा ४४१ जनाको केन्द्रीय कमिटी बनाइएको थियो । ४४१ मध्ये हाम्रो केन्द्रीय कमिटिको बैठक सुरु गर्दा ३१५ जनाको समर्थन र उपस्थित थियो । आज निर्वाचन आयोगमा २९५ केन्द्रीय कमिटिका सदस्यहरुको हस्ताक्षर म आफैँले बुझाएको हुँ केही कम्रेडहरु घर गएकोले आउन पाउनु भएन,’ उनले भने ।

केन्द्रीय कमिटीको दुई तिहाई बहुमत एकातिर अर्काेतिर ३० प्रतिशत पनि नभएपछि नाम, चुनाव चिन्ह, लोगो दुई तिहाई वा ७० प्रतिशतले पाउने कुरा स्वत स्पष्ट नै रहेको प्रचण्डले बताए । तर, उनले यहाँ संविधानअनुसार उल्लेख बहुमतको कदर नगरी संविधानको असंवैधानिक तरिकाले निर्मम हत्या हुनसक्ने भएकाले नीति पालना नहुनेमा शंका रहेको बताए ।

‘नेपालमा अहिले जसरी असंवैधानिक र निर्मम तरिकाले लोकतन्त्रको हत्या गर्ने दुस्साहस गरिएको छ,’ उनले भने, ‘संविधान बनाउने बेलामा धेरै छलफल गरेर संविधान भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई दिँदा देश अस्थिरताको भुमरीमा जाने भएको प्रधानमन्त्रीलाई त्यो विशेषाधिकार दिनुहुँदैन भन्दा केपी ओलीको समर्थन थियो । अहिले आफैँले त्यसो गर्नुभयो ।’

संसद् अधिवेशन डाक्नुपर्ने बेलामा संसद नै भंग गर्नु लोकतन्त्रमाथिको हत्या र अपहरण भएको प्रचण्डको टिप्पणी छ । ‘सदन डाक्नुपर्ने बेलामा भंग गरियो । त्यसकारणले यो निर्मम छ, लोकतन्त्रमाथिको हत्या र अपहरणको कदमका विरुद्ध सिंगो राष्ट एक हुनुपर्छ,’ उनले भने । उनले पार्टीमा ओलीले नाटक गरिरहेको पनि आरोप लगाए ।

‘पार्टीमा नाटक भइरहेको छ । हामी ३१५, उता एकसय वरिपरि जम्मा भएर ११९९ जम्मा भइयो भनेर घोषणा गर्नु जति अलोकतान्त्रिक के हुन सक्छ ?’ उनले प्रश्न गरे । निर्वाचन आयोगसँग आफूले पूर्णरुपमा भरोसा गरेको पनि बताए ।

‘हामीलाई निर्वाचन आयोगप्रति भरोसा छ । आयोगले संविधानको मर्म अनुसार पार्टीको बैधानिक हैसियत, नाम, लोगो, हामीलाई प्रदान गर्नेछ भन्नेमा हामीलाई विश्वास छ,’ उनले भने, ‘तैपनि संविधान विरोधी भएको बेला भयभित पनि छौँ । संविधान कुल्चेर विघटन गरियो अर्काे दुर्घटना नहोस् भन्ने चाहन्छौँ ।’

यसैबीच नेकपाका अध्यक्ष माधवकुरमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र र संघीयताविरोधी व्यक्तिको संज्ञा दिएका छन् । केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन । उनले ओलीलाई गणतन्त्रप्रति अपनत्व नभएको बताए ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १५:३५