सूचनाको शक्ति - The Power Of Information

        

नौसहाराबासीको पीडा

५०० परिवार जग्गाधनी पुर्जाविहीन

बाँके । जग्गाधनी पुर्जा नभएपछि बाँकेको नरैनापुर गाउँपालिका–४, नौसहाराका करिब ५०० परिवार विकास निर्माण र सेवाबाट समेत वञ्चित भएका छन् ।

स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाका अन्य गाउँमा बिजुली र सडक पुगे पनि जग्गाधनी पुर्जा नभएकै कारण नौसहारा गाउँको सडकमा ग्राभेलका साथै अन्य कुनै पनि विकास निर्माणको काम गरिएको छैन ।

गत चार दशकदेखि जग्गाधनी पुर्जा पाउने आशामा बसेका सो गाउँका स्थानीयवासीले पुर्जा नपाएकाले सो क्षेत्रलाई सरकारी जमिन मानेर गाउँपालिकाले सडक निर्माण र विद्युतीकरणको काम गर्न नसकेको गाउँपालिकाले जनाएको छ ।

वडा नं. ४ को नौसहारा गाउँका जनताले सडक निर्माण र विद्युतीकरणको माग गरे पनि सरकारी जमिनमा बजेट हाल्न नमिल्ने हुँदा बजेट र योजना दिन नसकिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

नौसहारा गाउँका ६० वर्षीय स्थानीय शमसाद खाँले वर्षौंदेखि सडक निर्माण र विद्युतीकरणको माग गर्दा सरकारी जमिनमा बजेट हाल्न मिल्दैन भन्ने जवाफ पाउँदै आएको गुनासो गरे । उनले जग्गाधनी पुर्जा नभएका कारण बैङ्किङ कारोबार र बेचबिखन गर्न नपाएको पनि बताए ।

निर्वाचनका बेलामा सबै उम्मेदवारले जग्गाधनी पुर्जा बनाउने आश्वासन दिँदै आए पनि चुनाव जितेपछि कसैले पनि फर्केर नहेरेको खाँको दुःखेसो छ । यसैगरि सोही गाउँका अर्का स्थानीय ७१ वर्षीय वारिस खाँले जग्गाधनी पुर्जा नभएकै कारण आफ्नो गाउँ विकासमा पछाडि परेको बताउँदै जग्गाधनी पुर्जा नभएका कारण नेपाली भएको महसुससमेत नहुने गरेको बताए ।

२०३८ सालदेखि बसोबास गरेका सो गाउँका स्थानीयवासी जग्गाधनी पुर्जाका लागि काठमाडौँसम्म पुगे पनि हालसम्म पाएका छैनन् । जग्गाधनी पुर्जाका लागि नौसहाराबासीले तीन पटक सदरमुकाम नेपालगन्ज आएर राजनीतिक दल, स्थानीय प्रशासन, भूमि सुधार तथा मालपोत कार्यालयलाई ज्ञापनपत्र बुझाइसकेका छन् । तर कसैले पनि सुनुवाइ नगरेको स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १०:१९