सूचनाको शक्ति - The Power Of Information

        

सातै प्रदेशमा ‘शीतल निवास’को झल्को


काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा जस्तै दृश्य आइतबार सातवटै प्रदेशका अस्थायी राजधानीमा देखिएको छ । प्रदेश सांसदले प्रदेश प्रमुखबाट शपथ लिइरहँदा शीतल निवासको झल्को देखिएको हो । शपथ लिइरहँदा प्रदेश सांसदहरुको अनुहारमा विशेष चमक देखिन्थ्यो । उनीहरुले वास्तविक रुपमा संघीयता कार्यान्वयन हुन थालेको महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
सातवटै ठाउँमा शनिबार बेलुकादेखि नै शपथको तयारी भएको थियो । काठमाडौं र बाहिरी जिल्लामा रहेका प्रदेश सांसदहरु आइतबार बिहानसम्म आफ्नो अस्थायी राजधानी पुगेका थिए । प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरको वीरेन्द्र सभागृहमा प्रदेशसभाका प्रमुख डा. गोविन्द सुब्बाले प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्य ओम सरावगीलाई शपथ गराउनुभयो । प्रदेश नं १ का १४ जिल्लाका ५६ जना प्रत्यक्ष र समानुपातिकका ३७ जना गरी ९३ जना प्रदेशसभा सदस्यले शपथ ग्रहण गरेका छन् ।
प्रदेश नम्बर दुईका १०७ जना सांसदले फरक फरक भाषामा शपथ लिएका छन् । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा शपथ गराए पनि अरु सांसदले भने आआफ्नो मातृ भाषामा शपथ ग्रहण गरेका सहकर्मी शैलेन्द्र महतोले जनाएका छन् । प्रदेश सांसदले नेपाली भाषामा शपथ लिन अस्वीकार गरेपछि प्रदेश प्रमुख कायस्थले आआफ्नो मातृ भाषामा शपथ लिन स्वीकृत दिएका हुन् । जेष्ठ सदस्य चौधरीले नेपालीमा बोले पनि सांसदले आआफ्नो मातृ भाषामा उल्था गरेका थिए । नेपाली भाषामा २४, मैथेलीमा ४७, हिन्दीमा ११ र भोजपुरीमा २५ जना सांसदले शपथ लिएका छन् ।
प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी ऐनले प्रदेश सांसदहरुले आफ्नो मातृ भाषामा शपथ लिन पाउने व्यवस्था गरेको छ । तर, आफूले शपथ लिन चाहेको भाषाबारे प्रदेशसभा सचिवालयमा तीन दिनअघि नै जानकारी गराउनु पर्ने प्रदेशसभा निर्वाचन सम्बन्धी ऐनको दफा ७५(२) उल्लेख गरिएको छ । तर प्रदेशसभाको सचिवालय नै नभएका कारण सांसदहरुले पूर्व अनुमतिबिनै आआफ्नो मातृ भाषामा शपथ लिएका हुन् । प्रदेश नम्बर २ को पहिलो प्रदेशसभाको बैठक माघ २१ गते शैक्षिक तालिम केन्द्र जनकपुरमा बस्ने भएको छ ।
प्रदेश नम्बर ३ मा ११० जना प्रदेशसभा सदस्यले शपथ ग्रहण गरेका छन् । अस्थायी मुकाम हेटौडामा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणी पौडेललाई शपथ गराएपछि उहाँले अरुलाई सपथ ग्रहण गराएका हुन् । प्रदेश नं ४ को पोखरामा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ गरी ६० जना सांसद रहेकामा दुई जनाले सपथ ग्रहण गरेनन् । मनाङबाट निर्वाचित राजिव गुरुङ ‘दिपक मनाङे’ र तनहुँ १ क बाट निर्वाचित राजबहादुर गुरुङले सपथ लिएनन् । राजिवलाई प्रहरीले खोजी गरिरहेको छ भने गुरुङ विदेशमा छन् । पोखराको नदीपुरमा रहेको पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि श्रेष्ठले अरु सांसद्लाई सपथ गराएका हुन् ।
यस्तै प्रदेश नम्बर ५ मा प्रदेश प्रमुख उमाकान्त झाले पदबहाली ग्रहण गरेपछि शपथ कार्यक्रम भएको । उनले प्रत्यक्ष निर्वाचित ५२ जना र समानुपातिकतर्फ ३५ गरी जम्मा ८७ जना सांसदलाई सपथ गराएका छन् । प्रदेश ६ मा दिउँसो १ बजेपछि सपथ ग्रहण गरिएको थियो । समन्वय समितिको हल सुर्खेतमा विहान ११ बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले पद बहाली गरेका थिए । ६ नम्बर प्रदेशमा ४० जना प्रदेशसभाका सदस्य छन् । प्रदेश नम्बर ७ का प्रदेश सांसदको शपथ ग्रहण समारोहका लागि तोकिएको धनगढीको जिल्ला समन्वय समिति कार्यालयको सभाकक्षमा आवश्यक तयारी गरिएको छ । प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना प्रदेशसभाका सांसद छन् ।

प्रकाशित मिति : ७ माघ २०७४, आइतवार ०८:४१