सूचनाको शक्ति - The Power Of Information

        

८०० वर्षपछि नजिक हुँदैछन् वृहस्पति र शनि

काठमाडौं । सौर्य मण्डलका सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति आपसमा नजिक हुँदैछन् । यसलाई खगोलविद्हरुले दुर्लभ घटना भनेका छन् । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया नै हो ।

तर धेरै वर्षपछि नजिक देखिनु खगोलशास्त्री र अन्तरिक्षविद्का लागि विशेष महत्वको विषय भएको उनले बताए । खगोलविद्हरुका अनुसार वृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया हरेक २० वर्षको अन्तरालमा हुन्छ । तर, रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था आठ सय वर्षपछि मात्र आउन लागेको हो ।

वृहस्पति र शनी ग्रह आपसमा नजिक देखिने दुर्लभ दृश्य नेपालका सबै ठाउँबाट खाली आँखाले अवलोकन गर्न सकिन्छ । शनि र वृहस्पति बिहान ९ बजेअघि उदाउने र साँझ साढे ७ बजे अस्ताउने छन् । आज साँझ वृहस्पति र शनिभन्दा माथि अर्धचन्द्रमा पनि देखिने छ । यो दुर्लभ दृश्य साँझ पौने ६ बजेदेखि ७ बजेभित्र अवलोकन गर्न सकिने खगोलविद्ले बताएका छन् ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ०९:१२