काठमाडौं । आकाशमा तुवाँलो लागेसँगै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ ।
आइतबार बिहान ६ बजे गरिएको मापनअनुसार काठमाडौंको न्यूतम तापक्रम ४.३ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको न्यूनतम तापक्रम १.६ डिग्री सम्ममा झरेको थियो ।
शुक्रबार १.६ डिग्री रहेकोमा शनिबार न्यूनतम तापक्रम २ डिग्रीमा चढेको थियो । आज ४.३ डिग्री पुगेको हो । रातमा सुख्खा हावा नचलेका कारण बसेको तुवाँलोले काठमाडौंको न्यूनतम तापक्रम बढाएको बरिष्ठ मौसमविद् मिनकुमार अर्यालले ने जानकारी दिए ।
उनका अनुसार रातमा सुख्खा हावा बढी चढ्यो भने न्यूनतम तापक्रम घट्छ । तर शनिबार राती सुख्खा हावा नचलेका कारण तुवाँलो बसेसँगै न्यूनतम तापक्रम बढेको हो ।
न्यूनतम तापक्रम बढेपनि अधिकतम भने तापक्रम घट्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौंका अधिकतम तापक्रम १६ देखि १८ डिग्री पुग्ने अनुमान गरिएको छ ।
आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पारिलो घाम लाग्ने सम्भावना कमजोर रहेको महाशाखाका बरिष्ठ मौसमविद् अर्यालले बताए । अहिले तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको छ।
हाल पुर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
साथै प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाकि भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
सत्यपाटी ।