सूचनाको शक्ति - The Power Of Information

        

भूमिहिनको लगत संकलन गर्न नरैनापुरले इकाई कार्यालय स्थापना गर्ने

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले भूमिहिन र अव्यवस्थित बसोबासीको पहिचान गर्दै लगत संकलन गर्न इकाई कार्यालय स्थापना गर्ने भएको छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्यविधि २०७७ अनुसार गाउँपालिकाको कार्यपालिका बैठकले इकाई कार्यालय स्थापना गर्दै कार्य अगाडि बढाउने निर्णय गरेको हो ।

अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले चालू आर्थिक बर्ष २०७७÷०७८ को पारित बार्षिक बजेटबाट इकाई कार्यालयका लागि २५ लाख रुपैयाँ छुट्ट्याउने निर्णय गरेको छ । सरकारी जग्गा खोजी तथा संरक्षण शिर्षकमा १० लाख, अध्यक्ष तथा उपाध्यक्षको सिफारिसमा कार्यान्वयन हुने योजना तथा आयोजना शिर्षकबाट १५ लाख रुपैयाँ छुट्याइएको छ ।

हिउँदे गाउँसभाबाट अनुमोदन गराई पारित गर्ने गरी व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको वडा नम्बर १ देखि ६ नम्बर वडाहरुमा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्यका लागि वडा नम्बर ४ मा इकाई कार्यालय स्थापना गर्न चारकोठे घर भाडामा लिन सात दिने सूचना प्रकाशन गर्ने निर्णय पनि गरिएको छ ।

कार्यपालिका बैठकले इकाई कार्यालयको प्रमुख गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत अधिकृत छैठौं विजयकुमार यादवलाई तोक्ने निर्णय पनि गरेको छ भने इकाई कार्यालयमा खटाइने अन्य कर्मचारीको व्यवस्थापन पनि गरिएको छ । अमिनको रुपमा गाउँपालिकामै कार्यरत अमिन धनराज कठायत, सामाजिक परिचालकका रुपमा गाउँ कार्यपालिकाको कार्यालय अन्तरगत वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक सुजित तिवारी, मनोजकुमार तमोली र हुसुन बानो दर्जीलाई तीन महिनाका लागि खटाउने निर्णय भएको छ ।

तथ्यांक संकलकमा वडा कार्यालयमा कार्यरत राकेशकुमार शर्मा र दाताराम यादवलाई खटाइनेछ भने कम्युटर अपरेटरका रुपमा गाउँपालिकामै कार्यरत विनोद चौधरीलाई पठाउने निर्णय बैठकले गरेको पनि प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिए । सहयोगीका रुपमा गाउँपालिकाको अमिन इकाईमा कार्यरत कार्यालय सहयोगी अफरोज खाँलाई पठाइनेछ । यसैगरी बोर्ड बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि नरैनापुरमा खटिएको नेपाली सेनाको टोलीले जयकिसान माविमा बस्दा खर्च भएको विद्युत महसुल रु.२८ हजार ८ सय ९० रुपैयाँ विद्यालयलाई भुक्तानी गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ०७:२४