सूचनाको शक्ति - The Power Of Information

        

अवैध आयात–निर्यात

बाँकेमा मौलायो तस्करी, ‘सशस्त्र प्रहरी तस्करमैत्री’, प्रशासन मुखदर्शक

नेपालगन्ज भन्सार कार्यालयभित्र रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)मा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सन्तोष शर्मा र तीर्थ भाटले तस्करीको चाँजोपाँजोको सबै व्यवस्थापन मिलाउँदै आएका छन् ।

बाँके । सरकारले राजश्व वृद्धि गर्न अनेक उपाय गरिरहेको छ । आयात–निर्यातलाई ब्यवस्थित वनाउन सिमा नाकामा भन्सार कार्यालय राखिएका छन् । सिमाको सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्नकै लागि सशस्त्र प्रहरी खटाइएका छन् । अझ पछिल्लो समयमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बिओपी) थप्ने क्रम जारी नै छ ।

तर, तिनै प्रहरी असहयोगी र तस्करमैत्री भइदिँदा राजश्व संकलनको अवस्था भने चिन्ताजनक छ । लकडाउन (बन्दाबन्दी)का बेला मात्रै प्रहरीले पटक–पटक भारतीय क्षेत्रबाट नेपाल छिराइएको अवैध सामान नियन्त्रणमा लियो । जसमध्ये रजनीगन्धा, तुलसी, सुपर पावर लगायतका सूर्तिजन्य पदार्थको परिमाण आधाभन्दा धेरै छ ।

नेपाल–भारत सिमा क्षेत्रवाट अवैधरुपमा आयात निर्यात हुने सामान मध्ये यो परिमाण नगन्य हो । कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि नै नेपाल–भारत सिमा सिल गरिएको थियो । निश्चित नाकाबाहेक मानिसको आवागमन हालसम्म पनि बन्द अवस्थामै रहेको छ । विरामी भएर उपचार गराउन जानुपर्ने मानिस पनि मुस्किलले सिमा वारपार गरिरहेका छन् ।

तर, यसै अवधिमा तस्करीको सामान पक्राउ पर्नु आफैमा आश्चर्यजनक हो । यसले एकातर्फ सिमा नाकामा भइरहेको निर्वाध तस्करीलाई देखाउँछ भने अर्कोतर्फ सिमा नाका खुल्ला हुँदा अवैधरुपमा कति सामान आयात–निर्यात होला ? भन्ने कुराको अनुमान लगाउन सकिन्छ । यो समस्या सप्तरीको मात्र होइन । भारतसँग सिमा जोडिएका हरेक जिल्लामा यो समस्या छ ।

सिमामा खटिएका प्रहरीकै सेटिङ्गमा दैनिक करोडौंको सामान अवैद्यरुपमा नेपाल आयात हुने गरेको सिमा आसपासमा वसोवास गर्नेहरु बताउँछन् । पान पसलदेखि किराना र थोकदेखि खुद्रा पसलमा पाइने रजनीगन्धा, तुलसी, सुपर पावरजस्ता गुट्खा र खैनी नेपाली बजारभन्दा भारतीय बजारमा सस्तोमा पाइने भएकाले व्यापक मात्रामा तस्करी हुने गरेको छ ।

यसले गर्दा एकातर्फ राज्यको राजश्व गुमिरहेको छ भने अर्कोतर्फ नेपाली उत्पादकहरु मर्कामा परिरहेका छन् । भारतीय उत्पादनका सूर्तिजन्य पदार्थहरु नेपाली बजारमा सस्तोमा किन्न पाइने भएपछि नेपाली उत्पादकले मुल्यमा प्रतिष्पर्धा गर्न नसकेको ब्यापारीहरु नै बताउँछन् । बाँकेको ६५ किरोमिटर क्षेत्र भारतसँग जोडिएको छ ।

नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङ्गमा तस्करहरुले अवैधधन्दा चलाइरहेका छन् । नेपालगन्जको मुख्य नाका जमुनाहामा कडाइ गरिएपछि तस्करहरुको समूहले अन्य नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ्गमा अवैध धन्दालाई चलाई रहेका छन् । बाँकेको जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न नाकाहरुबाट चोरी तस्करी बढेको हो ।

खासगरी परसपुर, जानकी गाउँपालिकाको साइगाउँ लगायतका क्षेत्रबाट तस्करी हुने गरेको पाइएको छ । मुख्य नाकाको पश्चिमतिर सुपर पावर सुर्ती, कोरेक्स, काटेको मासु भित्र्याउने गरिएको छ भने पूर्वीनाका सुइया प्रिपहवा, टेपरी लगायतबाट समेत सुपर पावर सुर्ती, कोरेक्स, ज्युदो बोइलर खुकुरा नेपाल ल्याउने गरिएको छ ।

ती सबै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छ । तर उनीहरु तस्करहरुबाट मासिकरुपमा मोटो रकम पैसा असुल्दै नेपालमा प्रतिबन्धित सामानहरु भित्र्याइरहेका छन् । यतिसम्मकी बाँके जिल्लाकै नामुद तस्कर आलमले जिल्लाका सुरक्षा निकायका प्रमुखदेखि लुम्बिनी प्रदेशका डिआइजीसम्मलाई सेटिङ्ग गरेको भन्दै सामान तस्करी गरिरहेका छन् ।

तस्करहरुले राती १२ बजेदेखि विहान ४ बजेको समयमा आलम भनिने तस्करले ट्याक्टर, साइकलमा लोड गरेर सुपर पावर सूर्ति, कोरेक्स लगायतका समानहरु ल्याउने गरेका छन् । उनले अवैधरुपमा ल्याएको सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कटिङ्ग गरेर सुरक्षित स्थानसम्म पुर्याउँदै आएको प्रहरी कर्मचारीहरु नै बताउँछन् ।

स्थानीय प्रशासनसमेत मुखदर्शक बन्दा तस्करहरुको मनोवल बढ्दै गएको छ । भारतबाट अवैधरुपमा सूर्ति, प्याज, चामल, चिनी, रासायनीक मल र कोरेक्स आउने गरेको छ । यहाँ महंगो पर्ने भएपछि भारतबाट यसको अवैध धन्दा हुने गरेको हो । यताबाट पेट्रोलियम पदार्थको तस्करी हुने गरेको पाइएको छ । यीनै नाकाको प्रयोग गरेर वारि लैजाने गरिएको हो ।

नेपालगन्ज भन्सार कार्यालयभित्र रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) मा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सन्तोष शर्मा र सशस्त्र प्रहरी गण महेन्द्रनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) तीर्थ भाटले तस्करीको चाँजोपाँजोको सबै व्यवस्थापन मिलाउँदै आएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।

यद्यपी असई सन्तोष शर्मा भने केही दिनअघि तालिममा गइसकेको बताइएको छ । सशस्त्र प्रहरी स्रोतले शर्मा तालिममा गएको भए पनि फोनबाटै सेटिङ्ग मिलाउने गरेको बतायो । असईद्वय शर्मा र भाटकै व्यवस्थापन र स्कटिङ्गमा तस्करहरुले अवैध सामान नेपाल भित्र्याउने गरेको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।

नेपालगन्ज भन्सार कार्यालयभित्र रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक जीवन बुढाले यो हल्लामात्रै भएको बताउँदै तस्करहरुको निगरानीका लागि पेट्रोलिङ्ग तथा गस्ती भइरहेको बताए । ‘हामी तस्करलाई खोजिरहेका छौं, भिआइपी जस्तो स्कटिङ्ग दियो भन्ने सूच्ना गलत हो,’ उनले भने, ‘यसमा सत्यता छैन ।’

बाँकेका विभिन्न सीमा नाकामा सशस्त्र प्रहरीकै सेटिङ्गमा दोहोरोरुपमा तस्करी बढ्दै गएको स्थानीयहरुको आरोप छ । नेपालबाट अवैधरुपमा केराउ समेत तस्करी गरी भारततर्फ पुर्याउने गरिएको छ भने भारतबाट कपडा, हार्डवेयरका सामान, कुखुरा, चल्ला, खाद्यन्न लगायतका सामाग्री अवैधरुपमा नेपाल ल्याइने गरिएको छ ।

सीमामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिटहरुलाई मासिक नजराना ‘लाइन’ बुझाएर काम गरिरहेको तस्करहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुभाष खड्काले भने बाहिर गरिएजस्तो अवैध कारोबार नभएको र नेपाल प्रहरीले तस्करी नियन्त्रणमा लिनका लागि कुनै कसर बाँकी नराखेको बताए ।

उनले भने, ‘गलत र अवैध कामहरु हुन नदिन प्रहरी चनाखो छ, हामीले हाम्रीसँग भएको जनशक्तिलाई अधिकतम परिचालन गरेर सक्रिय गराइरहेका छौं । हाम्रो पहुँच पुगेसम्म हामी लागिपरेकै छ ।’ उनले बाँके प्रहरीले चोरी तस्करी नियन्त्रणका लागि सबै युनिटहरुलाई सर्तक अवस्थामा राखेर सोही अनुसार काम गरिरहेको बताए ।

सीमामा नेपाल प्रहरीको भन्दा सशस्त्र प्रहरीको पहुँच ज्यादा भएकाले अवैध कारोबार भइरहँदा पनि सशस्त्र प्रहरी मुकदर्शक भएर बस्नुले कारोबारीहरुलाई साथ दिएको पुष्टि हुन्छ । त्यसो त भारतमा पेट्रोलियम पदार्थको मूल्य मंहगो हुँदा सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करहरुले ग्यालिनमा पेट्रोलियम पदार्थ भरेर नाका कटाउने गरेको पनि स्थानीयहरु बताउँछन् ।

कसरी हुन्छ तस्करी ?

सरकारले पानमसला, गुट्खा, खैनी, सूर्ति तथा सूर्तिजन्य पदार्थमा ३० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ । सूर्तीजन्य पदार्थको भन्सार मुल्य प्रतिकिलो रु.४२० तोकेको छ । तर भन्सार कार्यालयको रेकर्ड हेर्ने हो भने पानमसला, गुट्खा, खैनी, सूर्ति तथा सूर्तिजन्य पदार्थको भन्सार काटेको आजसम्म कुनै रेकर्ड पाइदैन ।

पाइयो भने पनि नगन्यरुपमा मात्रै । भन्सार काटेर सामान ल्याउँदा हरेक सामानको मुल्य बढ्न जान्छ । जसका कारण भारतबाट भन्सार नतिरी सामान आयात गरिन्छ । सिमा आसपासमा बसोबास गर्ने कतिपयको रोजिरोटी नै यसै पेसाबाट चलेको छ । हुन त अवैधरुपमा सामान ओसारपसार नियमित चल्छ ।

तर, सशस्त्र प्रहरीका गण र बिओपीका प्रमुखहरु परिवर्तन हुँदा भने केहि समय रोकिन्छ । यसै समयमा सशस्त्र प्रहरीले केहि सामान नियन्त्रण गरेर भन्सार कार्यालयमा बुझाउँछ । तर, प्रहरी–तस्कर सेटिङ्ग मिलेपछि वारपार सुरु हुन्छ । रोकिएको कारोबार खोल्नुलाई तस्करको भाषामा ‘लाइन खोल्नु’ भनिन्छ ।

सामान ओसारपसारको मोलतोल मिलेपछि लाइन खुल्छ । यसमा सशस्त्र प्रहरीका घुमुवा र सिमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी युनिटका इन्चार्जको भूमिका महत्वपूर्ण हुन्छ । उनीहरुले प्रहरी प्रमुख र तस्करहरुको वार्तालाप गराउनेदेखि सानातिना तस्करमार्फत आउने कमिसन संकलनको काम सुरु हुन्छ । तर, सहमति विपरीत कमिसन रकममा दायाँवायाँ हुँदा उनीहरु पक्राउ पर्छन् ।

ठुला कारोवारीसँग भने सशस्त्र प्रहरी प्रमुखहरुले विभिन्न माध्याम प्रयोग गरेर आफै डिल गर्ने गरेको सशस्त्र प्रहरी स्रोतको दाबी छ । तस्करीको काम राति–राति हुन्छ । साना तिना पोके ब्यापारी भने दिउँसै ओसारपसार गर्छ । तस्करहरुले मोटरसाइकल, टेम्पो र पिकअप गाडीबाट सामान नाका कटाउँदै आएका छन् ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १४:०५