सूचनाको शक्ति - The Power Of Information

        

ह्वात्तै बढ्यो चिसो, काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍याे

काठमाडौं ।  काठमाडौं उपत्यकासहित देशैभर चिसो ह्वात्तै बढेको छ । पछिल्लो एक हप्तायता निरन्तर तापक्रममा गिरावट आएसँगै जाडो ह्वात्तै बढेको हो ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री मापन गरिएको छ । यो तापक्रम यो वर्षकै सबैभन्दा कम हो । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान ५ः४५ बजे गरिएको मापनमा २.२ डिग्री रेकर्ड भएको थियो । त्यसपछि ६ः३० बजे गरिएको मापनमा अनुसार तापक्रम २ डिग्रीमा झरेको हो ।

काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटेको छ। आइतबार ४.५ डिग्री, सोमबार ४ डिग्री, मंगलबार ३ डिग्री, बुधबार २.८ डिग्री, बिहीबार २.२ डिग्री र आज २ डिग्री मापन गरिएको छ ।

काठमाडौंको मात्रै नभइ देशैभरको तापक्रममा गिरावट आएको मौसमविद् शाक्यले जानकारी दिइन् । उनका अनुसार बिहीबार जुम्लाको तापक्रम माइनस ७.५ डिग्रीमा झरेको छ । जिरीको माइनस ३.४ डिग्री, जोमसोमको माइनस ३ डिग्री मापन भएको छ ।

यस्तै दिपायलको १.५, डडेल्धुराको २.५, धनगगढीको ७.५, विरेन्द्रनगरको ३.४, नेपालगन्जको ६.५, घोराहीको ६.१, पोखराको ६.६, ओखलढुंगाको ५.१, ताप्लेजुङको ३.४ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनतम तापक्रम मात्रै नभइ अधिकतम तापक्रम समेत घट्दै गएका कारण देशैभर चिसो बढेको छ । चिसोबाट जोगिने उपाय अपनाउन महाशाखाले सर्वसाधरणसँग अपिल गरेको छ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ०९:१४