बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ‘ग्यास्टिक क्यान्सर’को सफल शल्यक्रिया गरिएको छ । सो अस्पतालमा ‘ग्यास्टिक क्यान्सर’ भएका एक जना बिरामीको सफल शल्यक्रिया गरेर सो सेवाको सुरुवात गरिएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका ग्यास्ट्रो सर्जन डा.ध्रुव शाह नेतृत्वको टोलीले यस्तो सफल शल्यक्रिया गरेको अस्पताल प्रमुख डा.प्रकाश थापाले बताए । उनले भेरीगङ्गा नगरपालिका जाजरकोटका ५८ वर्षीय रुद्रबहादुर पुनको शल्यक्रिया गरिएको बताए
पुनलाई पाँच महिनाअघि नै ‘ग्यास्टिक क्यान्सर’ पुष्टि भएको थियो । इन्डोस्कोपी गर्दा ग्यास्टिक क्यान्सर पुष्टि भएका पुनलाई सुरुमा चितवनस्थित क्यान्सर अस्पतालमा पठाइएकोमा पछिल्लो एक महिनायता पेट अधिक दुख्न थालेपछि फेरि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
भेरीमा मङ्सिर १३ गते भर्ना भएका बिरामी पुनको डा.शाहको नेतृत्वमा एनेस्थेसियोलोजिस्ट डा.पारश पाण्डे, तारा आचार्य लगायतको टिमले ‘ग्यास्टिक क्यान्सर’को शल्यक्रिया गरेको थियो । शल्यक्रियाको ११ दिनपछि पुनलाई डिस्चार्ज गरिएको थियो । पेटमा आउने समस्यामध्ये ‘ग्यास्टिक क्यान्सर’ जटिल समस्या भएको उनको भनाइ छ ।
डा.शाहका अनुसार लामो समयसम्म ग्यास्टिक हुँदा ग्यास्टिक क्यान्सर हुने गर्छ । अल्सर हुँदा दुखाइ बढी हुने चिकित्सकको भनाइ छ । अल्सर भएका व्यक्तिलाई पेट र छाती पनि पोल्दछ । डा.शाहका अनुसार अल्सर बढ्दै गएमा घाउमा रक्तस्रावका कारण रगत बान्ता हुने वा कालो रङ्गको दिसा आउने हुन्छ ।
यसैबीच, कोभिड–१९ का कारण लामो समयदेखि रोकिएको ब्रोनोस्कोपी सेवा नेपालगन्ज मेडिकल कलेजमा फेरि सुरु गरिएको छ । नेपालगन्नज मेडिकल कलेज नेपालगन्ज शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन तथा पल्मोनोलोजिस्ट डा.सुभाष योगीले गत एक सातादेखि पीसीआर नेगेटिभ बिरामीलाई नियमित सेवा दिन थालिएको बताए ।
उनले टाढा टाढाबाट उपचार गर्न आएका बिरामीलाई त्यत्तिकै फर्काउन मनले नमानेपछि सेवा सुचारु गरेको बताए । ब्रोनोस्कोपीमार्फत फोक्सोसम्बन्धी सम्पूर्ण जाँच दूरबिन प्रविधिबाट गरिने गरिन्छ । फोक्सोभित्र खकार जमेको, निमोनिया, टीबी, खकारबाट रगत आउने तथा फोक्सोको क्यान्सर वा अन्य फोक्सोसम्बन्धी रोगका बारेमा सजिलै पत्ता लगाउन सकिने डा.योगीले बताए ।
सत्यपाटी ।