बाँके । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासको मानव बस्तीमा वन्यजन्तुबाट खेतीबाली जोगाउन स्थानीय सरकारले मेसजाली लगाउन सुरु गरेको छ ।
निकुञ्ज आसपासका बाँकेको राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकाले निकुञ्ज तथा मध्यवर्ती आसपासका गाउँमा मानव बस्ती वरिपरि वन्यजन्तुबाट जोगाउन तथा मानव–वन्यजन्तुबीचको द्वन्द्व निराकरण गर्नका लागि ‘मेसजाली’ लगाउन सुरु गरेको हो ।
जङ्गल आसपासका मानव बस्तीमा वन्यजन्तुका कारण खेतीबाली नोक्सान हुने गरेकाले गाउँलेको मागअनुसार मेसजाली लगाउन सुरु गरिएको वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले बताए ।
उनले निकुञ्ज तथा राष्ट्रिय वनमा रहेका वन्यजन्तु चित्तल, जरायो, बँदेल लगायतका जनावर गाउँघरमा पसेर किसानले लगाएको खेती नष्ट गरेको जनगुनासो आएपछि गाउँपालिकाले स्थानीयको मागको आधारमा मेसजाली लगाएको बताए ।
मेसजाली लगाउँदा जमिनमुनि करिब डेढ फुट खनेर ढलान गरी सो ढलानमाथि जाली लगाउने गरिएको छ । चालू आर्थिक वर्षमा वैजनाथ गाउँपालिकाले वडा नं. १ र ४ मा करिब पाँच किलोमिटर मेसजाली निकुञ्जसँगको सहकार्यमा लगाइएको गाउँपािलका अध्यक्ष ठकुरीले बताए । उनले अझै पनि स्थानीयले मेसजालीको माग गरिरहेको बताए ।
यसैगरी बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. २ ले पनि विभिन्न स्थानमा गरेर करिब तीन किलोमिटर मेसजाली लगाएको वडाध्यक्ष मदन ओलीले बताए । उनले वडाको हरदेवा, गोभारपुर लगायतका गाउँलाई वन्यजन्तुबाट सुरक्षित राख्नको लागि मेसजाली लगाएको बताए ।
जालीका लागि अरू ठाउँमा पनि माग भएर आएको जनाउँदै उनले मेसजालीका कारण वन्यजन्तुले बालीनाली नोक्सान गर्न नपाएपछि स्थानीयवासीको वन्यजन्तुसँगको आक्रोश घटेर गएको बताए । बाँके बैजनाथ–१ का नारायण चौधरीले गाउँमा लगाएको मेसजालीका कारण वन्यजन्तु खेतबारीमा आएर नोक्सान गर्न नपाएको बताए ।
उनले जङ्गल र मानव बस्तीलाई नै छुट्याउने गरी पूरै क्षेत्रमा मेसजाली लगाउन माग गरे । बाँके राप्तीसोनारी–१ लौकीका दिपा बस्नेतले मेसजालीको अभाव हुँदा बाँके निकुञ्जबाट आएका वन्यजन्तुले बालीनाली खाएर हैरान पारेको दुखेसो पोखिन् । उनले गाउँ नजिक केही ठाउँमा मेसजाली लगाइएको भए पनि सबैतिर लगाउन नपाउँदा खेती नोक्सानी भइरहेको बताइन् ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्ता समूहका अध्यक्ष गेहेन्द्रकुमार खड्काले निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नको लागि अहम् भूमिका खेल्दै किसानलाई क्षतिपूर्ति दिने प्रकृयालाई पनि सहज र सरल बनाउँदै लैजानुपर्ने माग गरे ।
उनले वन्यजन्तु गाउँमा पस्न नदिनको लागि मेसजाली लगाउने अभियानलाई अझ तीव्र पार्दै लैजानुपर्ने सुझाव दिए । बाँके राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नको लागि विभिन्न वैकल्पिक उपायहरू अपनाउने गरेको जनाएको छ ।
।