सूचनाको शक्ति - The Power Of Information

        

अस्पतालको लापरबाहीले दुवै मिर्गौला फेल !


बाँके । भेरी अञ्चल अस्पतालको लापरबाहीका कारण बर्दिया सोरहवाकी २२ वर्षीया रुमा थारुको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । महिनावारी गडबडी भएर अत्यधिक रक्तश्रावका कारण उनी गत पुस २१ मा भेरी अञ्चल अस्पताल भर्ना भएकी थिइन् । उपचारका क्रममा फरक समूहको रगत चढाउँदा उनको दुइटै मिर्गौलामा गम्भीर समस्या देखा परेको छ ।
रुमालाई ‘ओ पोजिटिभ’ रगत आवश्यक थियो भने शिक्षण अस्पातल नेपालगन्जमा भर्ना भएकी अर्की बिरामी रुपा बोहरालाई ‘बी पोजिटिभ’ रगत चाहिएको थियो । संयोगवश दुवै बिरामी एकैपल्ट रगत लिन ब्लड बैंक पुगे । त्यहाँका कर्मचारीले दुवै बिरामीका आफन्तलाई ब्लडको पोका दिएर पठाए । ब्लड दिने कर्मचारी तथा बिरामीका आफन्तबीच दोहोरो कुराकानी हुन नसकेका कारण साटिएर ब्लडको पोका एक अर्काकोमा परेको ब्लड बैंकका प्रमुख उपेन्द्र रेग्मीले बताए ।
ब्लडको पोका साटिनु गम्भीर त्रुटि भएका कारण बैंकको ड्युटीमा रहेका कर्मचारी होम गिरीमाथि छानबिन भइरहेको रेग्मीले बताए । ब्लडको पोको लिएर बिरामीका आफन्तले अस्पताल कर्मचारीलाई दिएका थिए । शिक्षण अस्पतालका कर्मचारीले भने ब्लडको पोका फरक परेको थाहा पाए र बैंकमै फिर्ता पठाए । तर भेरी अञ्चल अस्पतालका नर्सले त्यही पोको जाँच नगरी बिरामीलाई चढाइदिइन् । जसका कारण रुमाको दुवै मिर्गौलामा समस्या देखियो ।
रुमाको दुवै मिर्गौला फेल भएपछि पुस २३ गतेदेखि नै भेरी अञ्चल अस्पतालको आइसियुमा भर्ना गरी डाइलासिस थालिएको थियो । असावधानीका कारण रुमाको मिर्गौला फेल भएपछि अस्पतालले सो घटना लुकाएको थियो । र, अस्पताल प्रशासनले उनको निस्शुल्क उपचार गर्दै आएको थियो । रुमा गाइने वार्डकी बिरामी भए पनि अस्पतालका फिजिसियनहरुले तत्काल सुविधा सम्पन्न अस्पतालमा रिफर गरेर थप उपचारको व्यवस्था मिलाउन अस्पताल प्रशासनलाई सुझाव दिएको बुझिएको छ । तर प्रशासनले घटनालाई गुपचुप राख्न खोजेका कारण रुमाको समस्या झनै जटिल बनेको हो ।
घटनालाई लिएर जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारु, बारबर्दिया नगरपालिकाका प्रमुख कविर चौधरी लगायतको टोलीले बिहीबार अस्पताल प्रशासन, चिकित्सकसँग छलफल गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । मिर्गौलामा समस्या देखिनेबित्तिकै रुमामा मुख सुन्निने, सहन नसक्ने गरी पेट दुख्ने जस्ता समस्या देखिएको थियो । त्यसपछि अस्पतालले आफ्नै खर्चमा थप उपचारका लागि अस्पातलका फिजिसियन डा खगेन्द्र शाह नेतृत्वको टोलीले रुमालाई काठमाडौंको वीर अस्पताल लगिएको छ ।
अस्पतालका मेसु डा. कृष्ण आचार्य यसो भन्छन् ‘ब्लड चढाउँदा दुई पटक चेक गरेर चढाउनुपर्छ । तर ड्युटीमा रहेका कर्मचारीको असावधानीले फरक समूहको रगत बिरामीलाई चढाइएछ । रगत चढाइएको केही समयपछि रुमाको शरीरमा एलर्जी देखियो । त्यसपछि मात्रै ड्युटीमा रहेका नर्सहरुले फरक समूहको गत चढाइएको चाल पाए । त्यो घटना थाहा पाउनेबित्तिकै हामीले बिरामीलाई आइसियुमा भर्ना गरेर हरसम्भव प्रयास गरेका हौं ।’ चिकित्सकले दिएको प्रेसक्रिप्सन भन्दा फरक समूहको बिरामीलाई रगत चढाउने स्टाफ नर्स कल्पना विकलाई अस्पतालले निलम्बन गरिसकेको छ ।

प्रकाशित मिति : ६ माघ २०७४, शनिबार ०६:०१