सूचनाको शक्ति - The Power Of Information

        

धन्न ज्यान जोगियो

गुड्दै गरेको बसमा आगलागी

फाइल तस्वीर

दाङ । दाङमा गुड्दै गरेको बसमा आगलागी भएको छ । तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बसमा तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा आगलागी भएको गाडी चालक पतिराम चौधरीले जानकारी दिए ।

तुलसीपुरबाट विहान सवा पाँच वजे नेपालगन्जका लागि छुटेको रा १ ख २३७४ नम्वरको बसमा एक्कासी आगलागी भएको गाडीका यात्रुले बताएका छन् । ‘पहिला सामान्य गन्ध आयो व्याट्रिको तार छुटाउँदा छुटाउँदै आगो लाग्यो,’ गाडी चालक चौधरीले भने ।

गाडीमा नेपाली सेनाका करिब ८ जना सवार भएका कारण पनि मानवीय क्षेति हुन नपाएको यात्रुले बताएका छन् । तुलसी पेट्रोल पम्पद्वारा सञ्चालित बसमा लागेको आगो निभाउन तुलसीपुर उपमहानगरपालिकाको दमकल प्रयोग गरिएको थियो भने दमारगाउँ र जसपुर प्रहरी चौकीबाट प्रहरीको टोली खटाइएको थियो ।

करिब २५ जना यात्रु रहेको जनाइएको छ । बसमा यात्रा गरिरहेकी रुकुम पाङापोखरा ३ की धनकुमारी कटुवालले धन्न आफु र छोराको ज्यान बचाएको बताइन् । सामान पछाडी राखेर आफु अगाडि बोनटमा बसेको हुँदा सामान र नगद बचाउन नसकेको कटुवालले बताइन् ।

‘एक्कासी धुवा आयो, छोरा कराएर भाग्यो मैले पनि केही देखिन,’ कटुवालले भनिन्, ‘छामेर छोराको खुट्टा समातेर ताने तर नगद पाँच हजार र समान सबै जल्यो ।’ रुकुमबाट कोहलपुर कोठा लिएर जान थालेकी कटुवाललाई भाडा र सामान्य खर्चको व्यवस्था मिलाएर कोहलपुर पठाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार ०८:४५