सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोभिड–१९ संक्रमण १३.९ प्रतिशत समुदायमा

प्रदेश नं २ र वाग्मती प्रदेशमा संक्रमणको जोखिम बढी

काठमाडौं । कोभिड–१९ को संक्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत संक्रमण समुदायस्तरमा फैलिएको महाशाखाले जनाएको छ ।

यही असोजमा महाशाखाले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गरेको थियो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले अनुसन्धानमा प्रदेश नं २ र वाग्मती प्रदेशमा संक्रमणको जोखिम बढी भएको देखाएको बताए ।

उनका अनुसार तराई र पहाडभन्दा हिमालमा संक्रमणको जोखिम त्यति नभएको अध्ययनले देखाएको छ । अध्ययनमा १५ देखि ४५ वर्ष उमेर समूहका मानिसलाई संक्रमण बढी भएको पाइएको छ । बालबालिकाका पनि संक्रमण भएको पाइएको छ । महाशाखाका निर्देशक डा पाण्डेले अध्ययनबारे थप मन्त्रालयले जानकारी दिने बताए ।

‘बालबालिका लक्षण मात्र नदेखिएर संक्रमण नभएको भन्ने थियो,’ महाशाखाका निर्देशक डा पाण्डेले भने, ‘बालबालिकालाई भित्रीरुपमा संक्रमण भएको अध्ययनले देखाएको छ ।’ महाशाखाले प्रत्येक प्रदेशका ३० वटा वडामा रहेका मानिसको रगतको नमूना सङ्कलन गरेर समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर एन्टिबडी परीक्षण गरेको थियो ।

एक वडामा १५ जनाको दरले नमूना सङ्कलन गरिएको छ । यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १७० जनाको नमूना सङ्कलन गरिएको थियो । महाशाखाले पूर्वी रुकुम र रसुवाबाहेक सबै जिल्लामा नमूना परीक्षण गरेको थियो । परीक्षणका लागि बालबालिका, बृद्धा, महिला, युवालगायत विभिन्न उमेर समूह र समूहका ट्राभल हिस्ट्री भएका तथा नभएका मानिस तथा संक्रमित भएका र नभएका व्यक्तिको नमूना सङ्कलन गरिएको थियो ।

महाशाखाले सङ्कलन गरेको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमण समुदायमा देखिए पनि मन्त्रालयबाट आधिकारिकरुपमा जानकारी नगराएको बताए । उनले ‘सेरो प्रिभिलेन्स’ रिपोर्ट मन्त्रालयमा आएपछि आधिकारिकरुपमा समुदायस्तरमा के छ भन्ने देखाउने बताए ।

फेरि परीक्षण

उनले समुदायस्तरमा देखिएको छ वा छैन भनेर फेरि अर्को परीक्षण गरिने बताए । उनले अहिलेको अध्ययनलाई सबैलाई समेट्न नसकेकाले पुनःएन्टिबडी परीक्षण गरिने बताए । ‘अहिले संक्रमण पनि घटेको छ, किन घट्यो, अर्को कुरा अहिले कोभिड–१९ विरुद्धको खोप ल्याउने भनिएको छ, उक्त खोप कस्तालाई लगाउने हो त्यसको निक्र्यौल गर्नुपर्दछ,’ उनले भने ।

महाशाखाका निर्देशक डा पाण्डेका अनुसार त्यही भएर पहिलेको भन्दा व्यापकरुपले एन्टिबडी परीक्षण गरिनेछ । उनले असोज–कात्तिकमा भन्दा जेठ–असारमा गरिएको भए अध्ययन राम्रो हुने धारणा राखे । नेपालमा अहिलेसम्म दुई लाख ४६ हजार ६९४ जनामा संक्रमण देखिएको छ भने दुई लाख ३२ हजार ८७२ निको र एक हजार ६७४ जनाको निधन भइसकेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार १४:२३