सूचनाको शक्ति - The Power Of Information

        

सनराइज बैङ्कद्वारा जयपृथ्वीमा शाखारहित बैङ्किङ सेवा विस्तार

बझाङ । सनराइज बैङ्कले विहीबारदेखि जयपृथ्वी नगरपालिकामा शाखारहित बैङ्किङ सेवा विस्तार गरेको छ । जयपृथ्वी नगरपालिकाको वडा नम्बर १ देखि ३ सम्मका नागरिकलाई लक्षित गरेर बैङ्कले शाखारहित बैङ्किङ सेवा विस्तार गरेको हो ।

बैङ्कले आफ्नो सेवा कार्यालय जयपृथ्वी नगरापालिका–३ राजकोटमा शाखारहित बैंक स्थापना गरेको जनाएको छ । बैङ्कमा खाता खोल्न तथा पैसा जम्मा गर्न रेमिटेन्स सेवासमेत त्यहाँबाट प्राप्त गर्न सकिने सनराइज बैङ्कका क्रेडिट इन्चार्ज लक्ष्मण सिंहले बताए ।

नगरपालिका वडा नम्बर ३ का सचिव हिरा ओलीले बैङ्कको कारोबारको लागिमात्रै चैनपुर जानुपर्ने अवस्थाको अन्त्य भएर यस क्षेत्रका नागरिकलाई सहज हुने बताए । उनले वडा कार्यालयले बैङ्कलाई गर्नुपर्ने सहयोगमा कहिलै पछाडि नपर्नेसमेत बताए ।

उक्त सेवाको कार्यालय उद्घाटनको क्रममा पाण्डु माध्यमिक विद्यालय पडेसका प्रधानाध्यापक रामबहादुर ऐडीले शाखा विस्तारको लागि लागिपर्ने सबैलाई धन्यवाद दिँदै स्थानीयबासीले खाता खोल्नकै लागि सदरमुकाम चैनपुर पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

‘ऋण लिन तथा बचत गर्नका लागि समयको बचत हुने भएकोले आफुहरुलाई पनि विद्यालयको छात्रवृत्ति रकम निकासाका साथै अन्य कामको लागि चैनपुर जानुपर्ने हुन्थ्यो, अब त्यो दिन हट्यो,’ प्रधानाध्यापक ऐडीले भने ।

कार्यक्रममा शाखारहित बैंकका सम्पर्क ब्यक्तिm विष्णु खड्काले भुगोल र जनसंख्यालाई आधार मानेर शाखारहित सेवा सञ्चालनमा ल्याएको जानकारी दिँदै आगामी दिनमा प्रभावकारीरुपमा सञ्चालनका लागि सबैले सहयोग आवश्यक रहेको बताए ।

उनले शाखारहित सेवा कार्यालयमा मात्रै नभएर विविएल ट्यापलाई आवश्यक परे घरघरमा लिएर सेवा दिन सकिने पनि बताए । शाखारहित बैङ्किङ सेवा विस्तार उद्घाटन कार्यक्रममा वडा कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागिता थियो ।

शाखारहित बैङ्किङ सेवा विस्तार उद्घाटन कार्यक्रमकै समयमा सात जना स्थानीय नागरिकले बैङ्क खातासमेत खोलेका थिए । उनीहरुले गाउँमै बैङ्कले सेवा दिने भएपछि खुसी व्यक्त गरे । यता जिल्लाको साइपाल, सुर्मा लगायतका स्थानीय तहहरुमा बैङ्क सेवा भने पुग्न सकेको छैन ।

अधिकांश स्थानीय तहमा सुरक्षा तथा इन्टरनेटको पहुँच नभएको भन्दै बैङ्कहरु जान सकेका छैनन् । बैङ्क पुग्न नसकेका स्थानीय तहहरुले सदरमुकाम चैनपुरमै सम्पर्क कार्यालय खोलेका छन् । सेवाग्राहीले स्थानीय तहको काम गरेबापतको रकम भुक्तानीका लागि चैनपुरमा धाउनुपर्ने अवस्था रहेको साइपाल गाउँपालिकाका घुरन बोहोराले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०९:५३