सूचनाको शक्ति - The Power Of Information

        

ठाउँ ठाउँमा वर्षा र हिमपातको सम्भावना, यस्तो हुनेछ तीन दिनको मौसम

काठमाडौं ।  पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको छ ।

यस्तै प्रदेश १ को पहाडी भूभागका एक÷दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।  उनका अनुसार अबको २ दिनसम्म देशका अधिकांश भूभागमा पारिलो घाम लाग्ने छैन् ।

नेपालमा पश्चिमी वायुको प्रवेशसँगै अरेबियन सागरको जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकोले मौसममा परिवर्तन आएको महाशाखाले जनाएको छ ।

यसका कारण देशका धेरै ठाउँको तापक्रम घटेको छ । काठमाडौं उपत्यकाको शुक्रबार बिहानको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन गरिएको छ । तराईका धेरैजसो ठाउँमा पनि तापक्रम घटेको छ ।  बिहानैदेखि हुस्सु लाग्न सुरु भएको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

मंसिर २६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

मंसिर २७ गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राति : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ।

हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

मंसिर २८ गते (आईतबार)

दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

राति:  प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।  प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०९:०३