सूचनाको शक्ति - The Power Of Information

        

विप्लवको क्रान्ति ! खसी नदिएपछि हत्या गरेका थिए शिक्षक श्रेष्ठलाई

काठमाडौं । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठलाई खसी नदिएको झोंकमा नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताले हत्या गरेको दाबी गरिएको छ ।

मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए । को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे । घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ ।

‘उहाँ (राजेन्द्र श्रेष्ठ)ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु गाई ब्याउन लागेको छ भन्नुभयो,’ धनकुमारीले भनिन्, ‘छिमेकीहरू आत्तिँदै बाख्रा खोरमै आएर तपाईंको पतिलाई कसैले अपहरण गरेर लगे भने । त्यसपछि सबै जना खोज्न थाल्यौं । खोज्दै जाँदा बन्दुक पड्केको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो ।’

उनका अनुसार हत्याराहरूले एउटा खसी र एउटा बाख्रा मागेका थिए । ‘उनीहरूलाई श्रीमानले बाख्रा चाहिँ दिने भन्नुभएको थियो । खसी नदिँदा यस्तो घटना भयो,’ उनले भनिन् ।

श्रेष्ठ शिक्षक मात्रै थिएनन्, उनले समाजसेवीका रूपमा समेत आफूलाई स्थापित गरेका थिए । ‘रानो नै गएपछि यहाँको के हुन्छ ? अब विद्यालयको हालत के होला ? उहाँले जस्तो विद्यालय कसले सम्हाल्छ ?’ स्थानीय एक युवकले बताए ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०७:५७