सूचनाको शक्ति - The Power Of Information

        

सिम्ता गाउँपालिका पुनः विवादमा

प्रमाणपत्रबिनै निमित्त प्रशासकीय अधिकृतले दिए आफ्नै छोरीलाई सव–इन्जिनयरको नियुक्ति

सुर्खेत । पटक–पटक विवादमा आउने सुर्खेतको सिम्ता गाउँपालिका फेरि विवादमा तानिएको छ । यसअघि पनि विज्ञापन नै नगरेर कर्मचारी नियुक्त गरेपछि विवादमा आएको सिम्ता गाउँपालिकामा सव–इन्जिनियर पदको नियुक्तिपछि फेरि विवादमा आएको छ ।

सव–इन्जिनियर पदका लागि आवश्यक प्रमाणपत्र विनै गाउँपालिकाले नियुक्ति गरेपछि विवादमा आएको हो । गाउँपालिका कार्यालयमा विमला रानालाई ‘रिजल्ट वेइटिङ’ पत्रको आधारमा नियुक्ति गरिएको हो । ‘रिजल्ट वेइटिङ’ भन्नाले परिक्षामा सहभागी भएको तर, नतिजा पास वा फेल भन्ने एकिन नभएको जानकारी पत्र हो ।

यद्यपी, सोही पत्रलाई आधार मानी गाउँपालिकाले विमलालाई नियुक्ति गरेको हो । गाउँपालिकाले विमलालाई प्राविधिक शाखाको सहायकस्तर पाचौं तह (सव–इन्जिनियर) पदमा ज्यालादारीमा नियुक्ति गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर रानाले बताए । सवईन्जिनियर विमला निमित्त प्रमुख प्रशासकीय अधिकृत रानाकी छोरी हुन् ।

अधिकृत रानाले रिजल्टको पर्खाइमा रहेकी छोरीलाई सोझै नियुक्ति गरेको स्वीकार गरेका छन् । रानाका अनुसार कानुनी प्रकृयाभन्दा पनि व्यवहारिक रूपमा छोरीलाई नियुक्ति गरेको बुझिन्छ । विमलाले सव–इन्जिनियर पदका लागि विज्ञान विषयमा प्रमाणपत्र तह उत्र्तीणका प्रमाणपत्र पेश गरेकी छन् ।

यद्यपी, प्राविधिकतर्फको सव–इन्जिनयर पदमा नियुक्ति हुनका लागि सिभिल ईन्जिनियरिङ्ग विषयमा डिप्लोमा तह अनिवार्य पास गरेको हुनुपर्छ । तर राना पास हुने वा नहुने भन्ने एकिन छैन । रानाले राप्ती ईन्जिनियरिङ्ग कलेजद्वारा प्राप्त रिजल्ट पखाईको पत्र (वेइटिङ लेटर) पेश गरेकी छन् । उक्त पत्र अनुसार रानाको शैक्षिक वर्ष सन् २०१५ रहेको छ । कलेजका प्रिन्सिपल रेशम गिरीका अनुसार राना सिभिल इन्जिनियरिङ्ग विषयमा पास भएकी छैनन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०७:४४