सूचनाको शक्ति - The Power Of Information

        

विकास

नेपालगन्ज विमानस्थल विस्तार, अब एकैसाथ ६ वटा विमान पार्किङ

बाँके । नेपालगन्ज विमानस्थलको पार्किङ क्षेत्र विस्तार गरेर एकैसाथ ६ वटा विमानलाई पार्किङ गर्न सक्ने बनाइएको छ । पार्किङस्थल विस्तारपछि एटिआर ७२ देखि एयरबस ३२० सम्मका विमानहरू पार्किङ गर्न सहज हुनेछ । २८ करोड ५३ लाख लागतमा पार्किङस्थल विस्तार कार्य सम्पन्न भएको हो ।

पार्किंङस्थलको विस्तारसँगै नेपालगन्ज विमानस्थलको स्तरोन्नति गर्नका नयाँ मास्टर प्लान (गुरुयोजना) स्वीकृत गरी ४ अर्बको लगानीमा अत्याधुनिक सुविधासम्पन्न नयाँ टर्मिनल भवन र रनवे विस्तार कार्य सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

नेपाल सरकारले नेपालगन्ज र बिराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ नेपाल सरकारले मास्टर प्लान स्वीकृत गरेको हो । नेपालगन्ज विमानस्थलको रनवे (धावन मार्ग)को लम्बाइ १ हजार ५२४ मिटर र चौडाइ ३० मिटर छ । २०७७ फागुनसम्ममा थप २०० मिटर धावनमार्ग विस्तारको काम सम्मन्न गरेर १ हजार ७२४ मिटर पुराइने गरी काम भइरहेको छ ।

नेपालगन्ज विमानस्थलमा हाल उडान भइरहेका एटिआर–७२ र सिआरजे–७०० विमानका लागि पनि १ हजार ७०० मिटर लामो रनवे आवश्यक पर्छ । सहजरुपमा एटिआर–७२ र सिआरजे–७०० विमानहरुको उडान र अवतरणका लागि पनि रनवे विस्तार आवश्यक रहेको विमानस्थलका प्रमुख ठाकुरले बताए ।

हाल नेपालगन्ज विमानस्थलबाट दैनिक ४० वटा सरदर उडान हुँदै आएको छ । नेपालगन्ज विमानस्थलबाट दैनिक करिब १ हजार ५०० यात्रुले हवाई यात्रा गर्दै आएका छन् । नेपालगन्ज विमानस्थलको नयाँ माष्टर प्लानअनुसार स्तरवृद्धिका लागि थप १०० बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ । हाल नेपालगन्ज विमानस्थलको क्षेत्र १६६ बिघा छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०७:०२