बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका ६ नम्बर वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट काम सञ्चालन गरेको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् प्रमुख अतिथी लाहुराम थारूले मंगलबार एक समारोहका बीच उक्त भवन उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिका अन्तर्गतका सबै वडाले अब आफ्नै कार्यालय भवनबाट सेवा सञ्चालन गर्ने बताउनु भयो । गाउँपालिकाको वडा नम्बर ३ र ६ कार्यालय यसअघि भाडामा सञ्चालन हुदै आएका थिए ।
उहाँले प्रत्येक नागरिक उत्पादन मुलक कार्यमा सहभागी भएर आर्थिक उन्नती नहुँदासम्म विकासको अर्थ नहुने उहाँले जोड दिनुभयो । गाउँपालिका कार्यालयले टिनको घरबाट आफ्नो सेवा प्रवाह गरिरहेको बताउँदै अध्यक्ष थारुले भन्नुभयो, ‘जबसम्म संघ अथवा प्रदेश सरकारबाट गाउँपालिका निर्माण गर्नका लागि बजेट आउँदैन, तबसम्म म विकास बजेटबाट गाउँपालिका भवन बनाउन चाहदैन, किनकी हामीले भाडा तिर्नु परेको छैन, टिनको कार्यालय भवन भएपनि हामी खुसी छौं ।’
गाउँपालिकामा बाहिरबाट आउने पाहुनाले गाउँपालिका भवनको प्रसंशा गर्ने गरेको प्रसंग कोट्याउँदै उहाँले पुरानै भवन भएपनि आफुहरु खुसी रहेको बताउनु भयो । गाउँपालिकाको विकासका लागि सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेकाले आफ्नै निर्माण उपकरण(ग्रेडर, रोलर) खरिद गरेका कारण सहज भएको बताउनु भयो ।
गाउँपालिकाको विकासले बिस्तारै फड्को मार्दै गएको र विकासको सुरुवात भइरहेको धारणा राख्नुभयो । कार्यक्रमका विशिष्ट अतिथी एवम राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँ–गाउँमा विकास निर्माणका काम हुँदा पहिलेको भन्दा धेरै परिर्वतन देखिएको बताउनु भयो ।
‘हाम्रै कार्यकालमा पनि धेरै बाटाहरु पिच भइसकेका छन्,’ उहाँले भन्नुभयो ‘हामीले चुनाव जित्ने वित्तिकै २०७४ को बाढीले सारा राप्तीसोनारीलाई बगायो, हाम्रो बजेट त्यहाँ खर्च भयो, हामी पहिलो वर्ष बाढी पीडितको ब्यवस्थापनमै अल्मलियौं, अहिले फेरी कोरोना महामारीले अस्तब्यस्त पारेको छ ।’
२० वर्ष अगाडीको भन्दा अहिले विकास निर्माणका काम धेरै भएको उपाध्यक्ष खत्रीको भनाई छ । उहाँले अगाडी भन्नुभयो, ‘हामी चुनावको बेलामा साईकल जान नसक्ने बाटोमा अहिले गाडी चल्न पाएका छन्, यति खुसी छौं ।’
ठेकेदारले बिद्युतीकरणको काम अलपत्र पारेर राप्तीसोनारीको वडा नम्बर ३ र ४ का बासिन्दालाई दुःख दिइरहेको भन्दै उपाध्यक्ष खत्रीले अलपत्र बिद्युतीकरणको काम सम्पन्न गर्न गाउँपालिकाले आफ्नो बजेटबाट पोल गाडिरहेको जानकारी दिनुभयो ।
राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले वडा कार्यालय जनताको कामसँग प्रत्यक्ष जोडिएको बताउँदै हरेक कामको सिफारिस गर्दा जनप्रतिनिधीले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । जनप्रतिनिधीले गरेका निर्णयलाई कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको भएको उहाँको भनाई छ ।
‘जनप्रतिनिधीको महत्वपुर्ण सहयोगी हातको रुपमा कर्मचारी हुन्छन्, जनप्रतिनिधीले गरेका निर्णयलाई कर्मचारीको पाटोबाट कार्यान्वयन गरिन्छ,’ उहाँले भन्नुभयो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जनकबहादुर थारुले वडा कार्यालयले करिव चार वर्षसम्म भाडामा बसेर काम सञ्चालन गरेकोमा अब आफ्नै भवनबाट जनतालाई प्रभावकारी सेवा दिने प्रतिवद्धता जनाउनु भयो ।
‘वडा कार्यालयको भवन निर्माणका लागि जसले जग्गा प्रदान गर्नुभयो, म जग्गा सहयोगी दातालाई हृदयदेखी धन्यवाद दिन्छु,’ उहाँले भन्नुभयो । वडा नम्बर ६ का हरेक बासिन्दाका लागि वडा कार्यालय भवन पायक पर्ने मध्यविन्दुमा रहेको वडाअध्यक्ष थारुले बताउनु भयो ।
उद्घाटन कार्यक्रमलाई राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारु, वडानम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द दहित, नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का सभापति मदन बुढा र वडा नम्बर ६ का वडा सदस्य कुलबहादुर थारुले सम्बोधन गर्नु भएको थियो ।
उक्त भवन ४४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको बताइएको छ ।
सत्यपाटी ।