बाँके । कोरोना संक्रमणबाट कैलालीका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–६ का ३५ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आज विहान सवा ४ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उनी मंसिर १५ गते अस्पतालको कोभिड प्रि आइसोलेसन युनिटमा भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन पीसीआर परीक्षण गरिएको थियो । बेलुका रिपोर्ट पोजेटिभ आयो । तत्काल उनलाई कोभिड आइसोलेसन युनिटमा राखेर उपचार सुरु गरिएको थियो ।
रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार गर्दागर्दै विरामीको आज विहान सवा ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा उपचाररत बाहिरी जिल्लाका ६२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने कोरोना संक्रमणबाट बाँकेका ३९ जनाको मृत्यु भएको छ ।
सत्यपाटी ।