सूचनाको शक्ति - The Power Of Information

        

सिमानामा तस्करहरू पुनः सल्बलाउँदै

बाँके । कोरोना महामारीको कहर घट्दै जाँदा बाँकेस्थित नेपाल–भारत सिमानामा तस्करहरू पुनः सल्बलाउन थालेका छन् । बाँकेसँग जोडिएको भारतीय सिमानामा तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीले पछिल्लो समयमा दिनदिनै अवैधरूपमा भारतबाट ल्याउँदै गरिएका तस्करीका विभिन्न सामान नियन्त्रणमा लिन थालेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका प्रमुख एसपी अशोक बमले कोरोनाको कहर घट्दै गएको बेला सिमानामा तस्करी गर्नेहरू पुनः सक्रिय हुन थालेकाले प्रहरीले पनि गस्ती र सक्रियता बढाएको बताए । उनले सोही कारणले दिनदिनै ठूलो परिमाणमा अवैधरूपमा भित्र्याउन खोजेका लाखौँ रुपैयाँका सामान बरामद भइरहेको जनाए ।

बाँके जिल्लामा पर्ने सबै सीमावर्ती क्षेत्रमा गस्ती र निगरानी बढाइएको जनाउँदै प्रमुख बमले तस्कर र तस्करीलाई कडाइका साथ रोकिने बताए । यसैक्रममा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको चिनी सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ । भन्सार छलेर ट्याक्टरबाट भित्र्याउन थालिएको सो चिनी प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डको टोलीले डुडुवा गाउँपालिका–६ नयाँबस्ती जङ्गलबाट भारतबाट ल्याउँदै गरेको चिनी, धान र गहुँ लगायत अन्य सामग्री बरामद गरेको हो । प्रहरीले तस्करीमा प्रयोग भएको भे. १ त ६७६४ नम्बर ट्याक्टरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गुरुदिन केवट, लवकुश गोडिया र बिकउ गोडिया छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार ०८:१२