सूचनाको शक्ति - The Power Of Information

        

चुनाहा खोलामा तटबन्ध निर्माण स्थानीय खुशी

फाइल तस्वीर

बाँके । लामो समयदेखि कटान र डुबानको समस्या भोग्दै आएका बाँकेको राप्तीसोनारी गाउँपालिका–१ का स्थानीयलाई बर्सेनि हुने कटान र डुबानबाट जोगाउन खोलामा तटबन्ध गरिएको छ । राप्तीसोनारी गाउँपालिका–१ का १२० घरपरिवारलाई डुबान र कटानबाट जोगाउन चुनाहा खोलाको दुबेरीमा ४५ मिटर लामो तटबन्ध गरिएकोभूतथा जलाधार व्यवस्थापन कार्यालय दाङले जनाएको छ ।

भू तथा जलाधार व्यवस्थापन कार्यक्रम अन्तरगत सो खोलामा ४५ मिटर लामो तटबन्ध गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्ण पौडेलले बताए । उनले राप्तीसोनारीका ६० दलित परिवार, ३० जनजाति परिवार र अन्य ३० परिवार गरेर १२० घरपरिवारलाई बर्सेनिको डुबान र कटानबाट जोगाउन तथा नजिकको वनक्षेत्रको समेत संरक्षणका लागि तटबन्ध गरिएको बताए ।

तटबन्धबाट खोला नजिकको आठ हेक्टर वनजङ्गलको समेत संरक्षण हुने भएको छ । पाँच लाख ५७ हजार ५२७ रुपैयाँको लागतमा सोतटबन्ध तयार गरिएको जनाउँदै वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत पौडेलले त्यसमा एक लाख १७ हजार २०६ रुपैयाँको स्थानीयले जनश्रमदान गरेको बताए । चुनाहाखोला नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष श्यामलाल विकले तीन महिनाको अवधिमा उक्त तटबन्ध तयार भएको जनाउँदै अब सो क्षेत्रका बासिन्दाले डुबान र कटानको समस्याबाट मुक्ति पाउने बताए ।

उनले सो तटबन्ध निर्माणमा प्रदेश सभाका सांसद कृष्ण केसी नमुनाले गरेको पहल र प्रयास महत्वपूर्ण रहेको जनाउँदै तटबन्धको निर्माण पूरा गरिएपछि स्थानीय खुसी भएको बताइन् । सो तटबन्धको शनिबार प्रदेश सभाका सांसद नमुना लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयको टोलीसँगै तटबन्ध निरीक्षणका लागि चुनाहाखोला पुगेकी सांसद नमुनाले वडा नम्बर–१ का सयौँ नागरिकको वर्षौंदेखिको समस्या समाधान भएको प्रतिक्रिया दिइन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार ०८:०८