बाँके । कोरोना महामारीमा सुरुदेखि नै अग्रपङ्क्तिमा खटिएका भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीले गत आर्थिक वर्षको जोखिम भत्ता पाएका छन् । नयाँ आर्थिक वर्ष सुरु भएको पाँच महिना पुगिसक्दा पनि भेरी अस्पतालका स्वास्थ्यकर्मीले गत आर्थिक वर्षकै जोखिम भत्ता पाउन सकेका थिएनन् ।
हाल अस्पतालले गत आर्थिक वर्षको तीन महिनाको जोखिम भत्ता वितरण गरिएको हो । दसैँ र तिहारमा जोखिम भत्ताका लागि धेरै पटक प्रयास गरिए पनि नपाएको जनाउँदै भेरी अस्पताल कर्मचारी युनियनका अध्यक्ष सिनियर अहेव होमनाथ सुवेदीले चौतर्फी दबाबपछि गत वैशाख, जेठ र असारको जोखिम भत्ता स्वास्थ्यकर्मीले पाएको बताए ।
उनले चालू आर्थिक वर्षको पाँच महिनाको भत्ता अझै वितरण नगरिएको जनाउँदै सो वितरण गर्न पनि आफूहरूले अस्पताल प्रशासनलाई निरन्तर दबाब दिइरहेको बताए । केन्द्रबाट भत्ताको रकम सरकारले पठाए पनि समयमा वितरण नगरिँदा फ्रन्ट लाइनमा खटिएका धेरै कर्मचारी र स्वास्थ्यकर्मीलाई समस्या भइरहेको भेरी अस्पताल कर्मचारी युनियनले जनाएको छ ।
भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले गत आर्थिक वर्षको तीन महिनाको जोखिम भत्ता स्वास्थ्यकर्मी र कर्मचारीलाई वितरण गरिसकिएको जनाउँदै अब चालू आर्थिक वर्षको चार महिनाको भत्ता पनि वितरण गर्ने तयारी भइरहेको बताए । विभिन्न कारणले भत्ता वितरणमा ढिलाइ भए पनि सबैलाई भत्ता वितरण गरिने डा. थापा जानकारी दिए ।
उनले कोभिड–१९ को महामारीमा स्वास्थ्यकर्मीले गरेको योगदान अतुलनीय रहेको बताए । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरणका लागि निर्देशिका बनाएर सरकारले भेरी अस्पताललाई गत आर्थिक वर्षमै एक करोड ६४ लाख रुपैयाँ पठाएको थियो । तर, अस्पतालका लेखा अधिकृतसहित केही कर्मचारी घुस प्रकरणमा अख्तियारद्वारा पक्राउ परेपछि आर्थिक कारोबार प्रभावित भएको थियो ।
५० हजार बढीको कोरोना परीक्षण
भेरी अस्पतालको नेपालगन्जस्तित पीसीआर प्रयोगशालामा गत शुक्रबारसम्म ५० हजारभन्दा बढी सर्वसाधारणको कोरोना परीक्षण गरिएको छ । कोरोना सङ्क्रमण देखिएको केही महिनापछि नै अस्पतालमा स्थापना भएको प्रयोगशालामार्फत हालसम्म ५० हजार १५५ जनाको नमुना सङ्कलन गरेर कोरोना परीक्षण गरिएको भेरी अस्पतालले जनाएको छ ।
कोरोना परीक्षणका लागि वैशाख ५ गते भेरी अस्पतालमा पीसीआर प्रयोगशालाको स्थापना गरेर परीक्षण सुरु गरिएको थियो । भेरी अस्पतालका प्रमुख डा.थापाले अस्पतालको प्रयोगशालामा हालसम्म ५० हजार १५५ जनाको स्वाब नमुना पुगेको र ती सबै नमुना परीक्षण गरिएको बताए । उनले परीक्षण गरिएकामध्ये चार हजार ५८८ जनामा सङ्क्रमण पुष्टि भएको बताए ।
डा.थापाका अनुसार पश्चिम नेपालमै सबैभन्दा बढी र सङ्घीय राजधानी काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण हुने प्रयोगशालाका रूपमा समेत भेरीको प्रयोगशाला रहेको छ । यो प्रयोगशालामा बाँके, बर्दिया, दाङ, प्युठानलगायत अन्य जिल्लाबाट समेत उपचारका लागि बाँके आउने बिरामीको स्वाब सङ्कलन गरी परीक्षण हुँदै आएको छ ।
सत्यपाटी ।