सूचनाको शक्ति - The Power Of Information

        

सडक विस्तार रोकिएको विरोधमा धनगढी बन्द


कैलाली । अत्तरिया–मोहना ६ लेन सडक बिस्तार रोकिएको विरोधमा शुक्रबार धनगढी बन्द गरिएको छ । बन्दमा सहभागी भएका जनप्रतिनिधिसहित एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अत्तरिया–मोहना ६ लेन सडक बिस्तारको विरोधमा १३ जना घरधनीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले ‘स्टेअर्डर’ जारी गरेपछि हाल सडक बिस्तारको काम रोकिएको छ । विकासको काम रोकिन नहुने भन्दै ‘धनगढी युवा दबाव समूह’को अगुवाईमा शुक्रबार बन्द आह्वान गरिएको हो ।
बन्दमा सहभागी भएको भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका ३ का वडाअध्यक्ष बलबहादुर ऐरसहित एक दर्जनलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । बजार पूरै बन्द छ भने लामो र छोटो दुरीका गाडी पनि चलेका छैनन् ।
मोटरसाइकल र अत्यावश्यक सेवाका गाडीहरु भने चलिरहेका छन् । ‘धनगढी युवा दबाव समूह’को नाममा बन्द आह्वान गरिएपनि यसमा सबै राजनीतिक दल र संगठनहरुले समर्थन जनाएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ०५:२८