सूचनाको शक्ति - The Power Of Information

        

कोभिड–१९ खोपः पहिलो चरणको खोप बेलायत पुग्यो

काठमाडौं । कोरोना भाइरसविरुद्धको फाइजर/बायोएनटेक खोपको पहिलो लट बेलायतमा पुगेको छ । बेलायतले गएको बुधबार सर्वसाधारणको प्रयोगका लागि फाइजर/बायोएनटेक खोपलाई स्वीकृति प्रदान गरेको थियो ।

आइपुगेको खोप केन्द्रीय हबमा राखिएको बताइएको छ । तर स्थान भने नखुलाइएको बिबिसीले जनाएको छ । आइपुगेको खोपलाई बेलायतका विभिन्न अस्पतालका खोप केन्द्रहरुमा वितरण गर्ने तयारी छ ।

बेलायतले फाइजर/बायोएनटेकको खोपको चार करोड जोड अडर गरेको छ, जुन दुई करोड व्यक्तिका लागि पुग्ने छ । पहिलो चरणको खोप कार्यक्रमले कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने वा मृत्यु हुनेको संख्या ९९ प्रतिशतसम्म घटाउने इंग्ल्याण्डका डेपुटी चिफ मेडिकल अफिसरले बताएका छन् ।

प्राध्यापक जोनथन भान–तामले बिबिसीसँग प्राथमिकताको सूचिमा रहेका सबैले खोप लगाउने बताएमा यो कुरा सम्भव रहेको बताएका हुन् । खोप जतिसक्दो चाँडो वितरण गरिने पनि उल्लेख गरेका छन् । बेल्जियममा उत्पादन गरिएको खोप युरोटनेल हुँदै बेलायतसम्म लगिएको हो ।

बेलायतले पहिलो चरणको खोपका लागि प्राथमिकता सूचिमा केयर होममा रहेका पोको उमेरका व्यक्ति तथा त्यहाँका कर्मचारी, ८० वर्ष भन्दा माथिका व्यक्ति र स्वाथ्यकर्मी तथा स्याहारमा खटिने कर्मचारीहरुलाई राखेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ०८:२१