बाँके । कोरोना महामारी शुरू भएसँगै धेरै स्वास्थ्यकर्मीको व्यस्तता बढेको छ । अस्पतालमा नियमित बस्नेदेखि घरबाटै ड्युटी गर्न आउनेको दिनचर्या पहिलेभन्दा फरक छ । बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मी परिवारसँग बस्न पाउँछन् कि पाउँदैनन्, क्वारेन्टाइन बसाइ र पीसीआर परीक्षणको रिपोर्टमा भर पर्न थालेको छ । परिवारसँग भेट्न पनि एउटा लामो प्रकृया नै पूरा गर्नुपर्ने झन्झट स्वास्थ्यकर्मीले भोगिरहेका छन् ।
केही चिकित्सक भने अस्पतालले बनाएका क्वारेन्टाइन र क्वार्टरमा बसेरै ड्युटीमा खटिइरहेका छन् । परिवारको साथ छाडेर पेशागत जिम्मेवारी पूरा गर्दै बसिरहेका स्वास्थ्यकर्मीहरू यतिखेर अस्पतालमा भेटिन्छन् । कोरोना संक्रमितको प्रत्यक्ष उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू यो समयमा सबैभन्दा बढी भूमिकामा छन् । जो यो संकटबाट अरूभन्दा बढी जुधिरहेका छन् । बिरामीलाई जीवनको आशा देखाउने माध्यम उनीहरू नै बनेका छन् । चिकित्सकहरू स्वयं संक्रमित हुँदा पनि उपचार पश्चात् पुनः उपचारमा खटिरहेका छन् ।
अस्पतालमा संक्रमितको उपचार र व्यवस्थापनमा सक्रिय भएपछि धेरैजसो चिकित्सकले परिवारका सदस्यसँग पीडा साट्न पाएकै छैनन् । बाँकेस्थित भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापा बिरामीको उपचार गर्दागर्दै संक्रमित भए । संक्रमण मुक्त भएपछि यतिखेर उनी अस्पताल परिसर बिहानै ७ बजे आइपुग्छन् । कोरोनाकाल शुरू भएदेखि उनको दैनिकी पनि फेरिएको छ । उनी कार्यरत अस्पताललाई कोरोना उपचार केन्द्र बनाएपछि उनको जिम्मेवारी थप बढ्यो ।
बिरामीको उपचार नै पहिलो प्राथमिकता
अस्पताल प्रवेश गरिसकेपछि उनको प्राथमिकतामा कोभिड वार्डको निरीक्षण पर्छ । चिकित्सकहरूलाई भेटेर संक्रमितको अवस्थाबारे बुझ्छन् । थापा अर्थोपेडिक्स डाक्टर भएपनि कोभिड संक्रमितको उपचारमा ध्यान दिनु आफ्नो जिम्मेवार रहेको ठान्छन् । कोरोना महामारी शुरू भएसँगै थापा आफ्नो नियमित सेवामा फर्किन पाएको छैनन् । ‘ओपिडीमा बसी बिरामीको परीक्षण गर्छु,’ उनी भन्छन्, ‘महामारी नभएको भए अहिले हाडजोर्नीका बिरामीहरूको उपचार गरिरहेको हुन्थेँ ।’ हप्तामा एकपटक बिरामीको शल्यक्रिया गर्छन् उनी ।
डा.थापालाई अस्पतालका अन्य साथीहरूले सहयोग गरेका छन् । सामुहिक सहयोगको भावनाले नै धेरै संक्रमित संक्रमण मुक्त भएका हुन् । अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएपछि आफ्नो कर्तव्यबाट टाढा भएका छैनन् उनी । महामारीमा पनि अस्पतालमा आएका अन्य बिरामीले सेवा पाइरहेका छन् । कोभिडका संक्रमित बढेसँगै अन्य रोग लागेर उपचार गर्न आउने बिरामीको संख्या पनि बढिरहेको उनले बताए । दैनिक १ सयभन्दा बढी अन्य रोगका बिरामीहरू स्वास्थ्य परीक्षणका लागि आउने गरेको तथ्यांक उनीसँग छ ।
उनलाई अस्पताल क्षेत्रमा १६ घन्टा बस्नुपरेकोले होला, कोभिडसँग डर लाग्दैन । किनभने, उनले यसभन्दा अगाडि कोरोना के हो राम्रोसँग भोगिसकेका छन् । उनले साधारण बिरामीको परीक्षण गर्दा सर्जिकल मास्क लगाउने गरेका छन् । ‘कोरोना त्रासकै बीचमा आएकालाई जसरी पनि सेवा दिनुपर्छ,’ डा.थापाले भने, ’शुरूवाती चरणमा मनमा थोरै भएपनि डर पसेको थियो । बिरामीको परीक्षण गर्दा अहिले सामाजिक र भौतिक दूरीलाई अनिवार्य लागू गरिएको छ ।’ कोभिड वार्डमा उपचाररत चिकित्सकहरूसँग उनी दैनिक मिटिङ बस्छन् ।
अस्पतालको जिम्मा पाएकाले संक्रमित, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको स्वास्थ्यअवस्था महत्त्वपूर्ण हुने गरेकोले उनीहरूको निगरानी गर्नुपर्नेमा थापा संवेदनशील देखिइन्छन् । महामारी शुरू भएपछि अस्पताल र कोभिड संक्रमितको उपचार व्यवस्थापनमै उनको समय बित्ने गरेको छ । मुलुकभर कोभिड कहर बढेसँगै धेरैले परिवारसँग भेटन पाएका छैनन् । डा. थापा बिहान ७ बजे घरबाट निस्केर राती ११ बजे घर जाने गरेका छन् । कोरोना संक्रमितले बेड भरिन थालेपछि अस्पतालको ड्युटी समय बढ्दै गएको हो ।
जब आफ्नै परिवार संक्रमित भयो
जिल्लामा कोरोना देखिएपछि उनको व्यस्तताको समय बढेको छ । ‘अस्पतालमा संक्रमितको उपचार बढेसँगै परिवारसँग बसेर खाना खाने समय छुटेर गएको छ । अबेर घर जाँदा सबैजना सुतिसकेका हुन्छन्, अस्पतालको जिम्मेवार पाएदेखि परिवारको साथलाई सबैभन्दा बढी मिस गरिरहेको छु,’ उनले भने, ‘परिवारसँगको साथ मात्र भनेर नहुने रहेछ, अस्पतालमा मेरो भन्दा सयौँ परिवारका सदस्यहरू हुन्छन्, वहाँहरूको ऊर्जाले पनि अस्पताल जानलाई प्रेरित गरिरहन्छ ।’
उनका परिवारका सबै सदस्य संक्रमित भए । श्रीमतीसहित छोरालाई कोरोना पुष्टि भएको एक सातामा उनलाई कोरोना देखिएको थियो । सो क्षण सम्झँदै उनी भन्छन्, ’संक्रमित उपचारको जिम्मा लिएको चिकित्सक मेरो परिवारका सबैलाई संक्रमण देखिँदा केही क्षण मन आत्तिएको थियो । म पनि संक्रमित भएँ । सम्हालिनुको विकल्प थिएन ।’
गम्भीर अवस्थाका संक्रमितलाई प्लाज्मा र रेमडिसिभर
डा.थापाले अस्पतालको जिम्मा सम्हाल्दै गर्दा आफैण कोरोना संक्रमित पनि भए । यतिखेर संक्रमणमुक्त भई आफ्नो नियमित काममा फर्किसकेका छन् । आफूलाई कसरी कोरोना लाग्यो ः उनलाई थाहा नै भएन । उनी संक्रमित भएको समयमा ५० जना स्वास्थ्यकर्मी पनि संक्रमित थिए । आइसोलेसनमा बस्दा पनि निरन्तर अस्पतालको काममा थिए उनी । फोनमार्फत साथीहरू परिचालन गरी उपचार गर्न आउने संक्रमितलाई असहज महसुस हुन उनले दिएनन् । बिरामीको स्वास्थ्य परीक्षण गर्दा लाग्यो वा कोभिड वार्डमा खटिएकासँग दैनिक सम्पर्क हुँदा कोरोना लाग्यो, त्यसबारेमा केही थाहा नभएको उनी बताउँछन् ।
संक्रमणमुक्त भएपछि उनले प्लाज्मा दान पनि गरिसकेका छन् । संक्रमित निको भएको ३० दिनपछि प्लाज्मा दिन मिल्छ र यो कोभिडका गम्भीर प्रकृतिका संक्रमितलाई प्लाज्मा दिएर उपचार गरिन्छ । गम्भीर अवस्थाका संक्रमितलाई प्लाज्मा र रेमडिसिभर चलाइ उपचार गरिएको उनी बताउँछन् । संक्रमित भएर आउने भन्दा पनि संक्रमणमुक्त भएर जानेको संख्या बढी रहेकाले केही राहत भएको छ । संक्रमित भएपछि १० दिनसम्म होम आइसोलेसनमा बसे उनी । उनको अनुभवमा होम आइसोलेसनमा बस्नेले नियमित अक्सिजन लिने र फोक्सोको परीक्षण गराउनुपर्छ । मुख्यतः कोभिडले फोक्सोमा असर गर्छ ।
मोबाइलको सहायताले उपचार
पहिलोपटक भेरी अस्पतालमा वैशाख १९ गते ७० वर्षीय वृद्ध संक्रमित उपचार गर्न आएका थिए । त्यसबखत अस्पतालमा ठूलो खैलाबैला मच्चिएको थियो । ‘संक्रमित उपचार गर्न आएका छन्, के कसो गर्ने भनेर सबै त्रासमा थिए,’ उनले अनुभव सुनाए, ‘उनलाई निःशुल्क मोबाइल दिएका थियौं, केही समस्या भएमा मोबाइलबाट सोध्ने गर्थ्यौं । तर, संक्रमितलाई मोबाइल चलाउन आउँदैन थियो, माइकबाट कराएर पनि उनको समस्या सोधेर उपचार गरेको उनी बताउँछन् । अस्पतालबाट ५० हजार भन्दा बढी संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएर गएका संक्रमितले फोन गर्दा सबैभन्दा बढी आनन्द आउने गरेको उनी सुनाउँछन् ।
अस्पतालमा अहिलेसम्म ३० भन्दा बढी संक्रमितको मृत्यु भएको छ । अस्पतालमा ३ सय कर्मचारी कार्यरत छन् । कोभिड संक्रमितको उपचारमा ९० स्वास्थ्यकर्मी खटिएका छन् । स्वास्थ्यकर्मीको लागि अहिलेसम्म जोखिम भत्ताको अभाव नभएको उनले जानकारी दिए । संक्रमितको उपचारार्थ ७२ वटा सुविधायुक्त बेड छन् । सबै बेड सहजै अक्सिजन जोड्न मिल्ने खालका रहेको डा.थापाले बताए । ‘अस्पतालमा सबै सुविधा भए पनि केही न केही छुटेको जस्तो लाग्छ । अक्सिजनको धेरै प्रयोग गर्नुपर्ने भएकोले तत्कालै अक्सिजन प्लान्ट बनाउनुपर्नेछ,’ उनले भने । (थाहा खबरबाट)
सत्यपाटी ।