काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन जडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेसिन जडान गरेको हो । यसअघिको विद्युतीय शवदाह गृह पनि सन्चालनमा छ ।
कोरोनापछि यी शवदाह गृहमा संक्रमित भई निधन भएका व्यक्तिको मात्र शव जलाउने गरिएको छ । हिन्दु परम्पराअनुसार शव दाउराबाटै जलाउने मान्यता राख्नेहरुले दाउराबाटै शव जलाउने गर्छन् ।
पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने अपेक्षा कोषको छ । वातावरणमैत्री, काठको खपत कम हुने र एउटा शव जलाउन अधिकतम डेढ घण्टा मात्र लाग्ने भएकाले यो मेसिन जडान गरिएको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताएका छन् ।
त्यसका लागि पशुपतिको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
सत्यपाटी ।