जेवी पुन मगर । काठमाडौं । प्रतिस्पर्धात्मक ठानिने ‘पहिलो हुनेले जित्ने’ निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित सभासदहरुको उमेर विश्लेषण गर्दा युवाहरुका लागि यो चुनावी परिणाम उत्साहजनक छैन । १६५ जना विजयी सभासद मध्ये बहुसंख्यकको उमेर ४०–७० रहेको छ । अर्थात् पछिल्लो जनमतले पनि देश बनाउने जिम्म पाकाहरूकै काँधमा हालिदिएको छ ।
मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावबाट ३२ वर्ष भन्दा कम उमेरका एक जना सभासद पनि संसद भवन छिर्न सकेनन्, जसले आगामी पाँच वर्ष देशको कानुन बनाउने मात्रै होइन, सरकार नै बनाउने संवैधानिक अधिकार पाएको छ । ३२ वर्षभन्दा कम उमेरका युवाले उम्मेदवारी नपाएका भने होइनन् तर, उनीहरू प्रत्यक्ष निर्वाचन प्रणालीको प्रवेशद्वारमै अड्किए ।
नेकपा माओवादी केन्द्रको तर्फबाट मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित ३२ वर्षीय अमनलाल मोदी सबैभन्दा कम उमेरका निर्वाचित सभासद हुन् । ३२ देखि ४० वर्ष उमेर समूहका जम्मा १० जना सभासद मात्र विजयी भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित महिन्द्र राय यादव सबैभन्दा जेठा सभासद हुन् । निर्वाचन आयोगमा बुझाइएको व्यक्तिगत विवरण अनुसार यादवको उमेर ८० वर्ष पुगेको छ ।
८० वर्षका यादव सहित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष ७५ वर्षीय महन्थ ठाकुर र नेपाली कांग्रेसका सभापति ७२ वर्षीय शेरबहादुर देउवा सभासदको हैसियतमा संसद छिर्दैछन् । निर्वाचनअघि सामाजिक संजालमा ‘देश बनाउन युवा नेतृत्व’ को नाराबाजी गरिएपनि निर्वाचन आयोगको तथ्यांक संश्लेषणले जनमत अझैपनि पाका र पुरानै नेतृत्वको पक्षमा रहेको देखाउँछ ।
पहिचानको आन्दोलनको केन्द्र मानिएको प्रदेश १, लामो समयदेखि मधेस आन्दोलन गरिरहेको प्रदेश २, १० वर्षे माओवादी आन्दोलनको केन्द्र मानिएको प्रदेश ५ र थरुहट र सुदुरपश्चिम पहिचानको मारामारी चलेको प्रदेश ६ बाट देशको सर्वा्धिकार सम्पन्न प्रतिनिधिसभामा उर्जावान युवाहरु आउने अपेक्षा राखिएको थियो । तर निर्वाचन परिणामले त्यस्तो देखाएन ।
पछिल्लो समय सबैभन्दा बढी आन्दोलनरत मधेसी दलहरुबाट आउनेमा समेत पाकाहरुकै वर्चश्व देखिन्छ । देशको सबैभन्दा बढी शिक्षित बस्ने भनिएको र अहिलेसम्म सत्ता संचालनको केन्द्र रहेको प्रदेश ३ मा त ४० वर्ष मुनिका एक जनापनि सभासद छैनन्, जबकी यो प्रदेशमा ६० कटेका ८ जना सभासद निर्वाचित भएका छन् ।
जस्तो नेतृत्व त्यस्तै परिणाम
कुल जनसंख्याको ४०.३ प्रतिशत ओगट्ने १६ देखि ४० वर्ष उमेर समूहका युवा देशको भाग्य लेख्ने थलोमा पुग्न नसक्नुका केही कारण देखिन्छन् । वाम गठबन्धनको तर्फबाट चुनावी अभियानको नेतृत्व ६५ वर्षीय केपी ओली र ६१ वर्षीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए भने लोकतान्त्रिक गठबन्धनको नेतृत्व ७२ वर्षीय शेर बहादुर देउवाले । प्रतिपक्ष ठानिएको मधेसी गठबन्धनको कमान्ड पनि ७५ वर्षीय महन्थ ठाकुरको काँधमा थियो । त्यसैले होला ‘जस्तो नेतृत्व त्यस्तै परिणाम’ आएको छ ।
पाका पुरुषको नेतृत्वमा भएको चुनावी परिणाम महिलामैत्री पनि हुन सकेन । प्रत्यक्षबाट जम्मा ६ जना महिला मात्र सभासद चुनिएका छन् । सबैभन्दा बढी सिट जितेको एमालेमा कन्चनपुर २ बाट निर्वा्चित ३८ वर्षीय नरबहादुर धामी सबैभन्दा कान्छो सभासद हुन् । ६० कटेका ११ जना सभासद जिताएको एमालेमा ४० वर्ष मुनिका धामी मात्र एक्ला सभासद हुन् । कांग्रेसबाट ४० वर्षभन्दा कम उमेरका ३ जनाले जितेका छन् । सबैभन्दा पुरानो यो दलमा ६० कटेका सभासद ११ जना देखिन्छन् । एमाले र कांग्रेस भन्दा तुलनात्मक रुपमा माओवादी केन्द्रले युवा सभासद बढी जिताएको छ । माओवादीले ४० नकटेका ५ जना र ६० कटेका ६ जना सभासदलाई संसदमा पठाएको छ ।
दलमा जुन जातिले नेतृत्व गर्यो सत्तामा उसैको वर्चश्व देखिने नेपाली राजनीतिको प्रवृत्ति यसपालि पनि दोहोरिएको छ । दलगत रुपमा एमालेको भएपनि यसपालि खास निर्वाचन अभियान केपी ओलीको नेतृत्वमा देशव्यापी रुपमा चलाइएको थियो । त्यसको प्रभाव मतपरिणाममा पनि प्रकट हुन गएको छ । ५४ जना सभासद (३२.७३ प्रतिशत) बाहुन समुदायबाट निर्वाचित भएका छन्, जसमध्ये ३४ जना त एमालेबाट मात्रै चुनिएका हुन् । प्रतिनिधिसभाको जनादेशलाई मात्र आधार बनाउने हो भने प्रमुख ३ दलमा यो सुमदायको पहिलो स्थान सुरक्षित हुन गएको छ । माओवादी केन्द्रबाट ११ र नेपाली कांग्रेसबाट ६ जना सभासद चुनिएका छन् । बाहुनको संख्या बढ्दा यसपालि कांग्रेसमा क्षेत्रीको सभासद संख्या ६ मा सिमित हुन पुगेको छ ।
प्रदेससभा अनुरुप तथ्यांक केलाउँदा १, ३, ४ र ५ मा बाहुन सभासदको बहुमत हुन गएको छ भने प्रदेश ६ र ७ मा क्षेत्रीको वर्चश्व भएको छ । प्रदेश २ मा मधेसी समुदायको बहुमत आएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट यसपालि बाहुन ५४ (३२.७३ प्रतिशत), क्षेत्री ३० (१८.१८ प्रतिशत), मधेसी ३१ (१८.७९ प्रतिशत), नेवार १० (६.६ प्रतिशत), थारु ९ (५.४५ प्रतिशत), मगर र राई ६–६ (३.६४ प्रतिशत), लिम्बु ५ (३.०३ प्रतिशत), तामाङ, गुरुङ, दलित र मुस्लिम ३–३ (१.८२ प्रतिशत), थकाली र सुनुवार १–१ (०.६१ प्रतिशत) सांसद विजयी भएका छन् ।
विभिन्न जाति र समुदायबाट संसदको दैलोमा पुगेका यी पाका सभासदहरुले के कस्ता निर्णय गर्छन् त्यसले भोलिको नेपालको सचित्र बयान गर्नेछ । तर युवाहरुको हस्तक्षेपकारी जनसंख्या भएपनि ४० लाख भन्दा बढी तन्नेरी विदेशी भूमीमा नङ्ग्रा खियाइरहेकाले पनि होला, तिनको उमेर समूहबाट ‘आफ्नो भाग्य आफैं कोर्ने’ थलोमा चाहिं यो वर्गको प्रतिनिधित्व एकदमै न्यून भएको छ । –नेपाल खबरबाट
।