सूचनाको शक्ति - The Power Of Information

        

नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा

गम्भीर दुर्घटनाको डिलमा पुग्यो नेकपा

काठमाडौं । तत्कालिन एमाले र माओवादीबीच एकीकरण भएर भर्खर बामे सर्दै गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर दुर्घटनाको डिलमा पुगेको छ । सत्तारुढ दल नेकपाभित्र चर्केको आन्तरिक विवाद उत्कर्षमा पुग्दा नेकपा नै दुर्घटनामा पर्ने जोखिम बढेको मंगलबारको पार्टी सचिवलाय बैठकको माहोलले देखाएको छ ।

२०७६ जेठ ३ गते तत्कालिन एमाले महासचिब मदनकुमार भण्डारीको स्मृति दिवसको अवसर पारेर एकीकण भएपछि जन्मेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले विभाजनको दिशातर्फ बढिरहेको नेकपाका शीर्ष नेताहरुले नै बताउन थालेका छन् । जसरी पार्टीमा दुई अध्यक्ष र नाम पनि दुई पटक जोडिएको छ, त्यसरी नै दुई अध्यक्षबीच तिक्तता पनि बढेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेकपाको औपचारिक बैठकमै भनाभनको स्थिति देखिएपछि नेकपा भित्रको हार्दिकता पनि विस्तारै सकिँदै गएको नेकपा नेताहरुले बताएका छन् । नेकपाको सचिवालयमा हाल छलफलका लागि भन्दै ६ वटा दस्तावेज छन् ।

दुई अध्यक्षले एकअर्कालाई लेखेका पत्र, पार्टी आन्तरिक निर्देशन, दुई अध्यक्षले छुट्टाछुट्टै पेश गरेको राजनीतिक प्रस्ताव र प्रचण्डलगायत पाँच जना सचिवालय सदस्यले पार्टी बैठकको माग गर्दै दिएको निवेदन हाल नेकपाको सचिवालयमा छलफलरत छन् । मंगलबारको बैठकमा प्रचण्डले पेश गरेको एकल प्रस्ताव र ओलीले पेश गरेको जवाफी प्रस्तावमाथिको छलफल शुरु हुने कार्य सूची थियो ।

तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने बैठकको शुरुमै बताएपछि मंगलबारको बैठकको माहोल निराशाजनक रहेको एक सचिवालय सदस्यले बताएका छन् । बैठकमा ओलीले प्रचण्डले ल्याएको प्रस्ताव विधिवतरुपमा पनि नआएको र कुण्ठामात्र भएको भन्दै त्यस्तो दस्तावेजमाथि पार्टी कमिटीमा छलफल हुन नसक्ने भन्दै सो प्रस्ताव पेश गर्ने अध्यक्ष प्रचण्डले माफी माग्नुपर्ने बताएका थिए ।

ओलीले माफीको कुरा उठाएपछि दुई अध्यक्षबीच भनाभनको स्थिति आएको एक सचिवालय सदस्यले बताए । प्रचण्डले पेश गरेको प्रस्तावमा ओली सामन्ती । भ्रष्टाचारीको संरक्षक भएको जस्ता दजर्नौ आरोप लगाइएको छ भने ओलीले पेश गरेको जवाफी प्रस्तावमा प्रचण्डलाई विदेशीको इशारामा चलेको आरोप लगाइएको छ ।

प्रचण्डको प्रस्तावमा ओलीले आत्म आलोचनासहित त्याग गर्नुपर्ने भनिएको छ भने ओलीको प्रस्तावमा त्याग गर्ने नभई प्रचण्डले माफी माग्नुपर्ने भनिएको छ । परस्पर दुई विरोधी प्रस्ताव नेकपाको सचिवालयमा छलफल मंगलबार शुरु हुँदा नेकपा गम्भीर दुर्घटनाको डिलमा पुगेको विश्लेषण हुन थालेको छ ।

मंगलबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले यस्तो आरोपप्रत्यारोप गर्ने बैठकको औचित्य नहुने र यसले पार्टी विभाजनलाई बल पुग्ने विचार राखेको बताइएको छ । प्रचण्डले बुधबार पनि बैठक बस्ने सुनाएपछि ओलीले बुधबारको बैठकमा सहभागिता नजनाउने संकेत दिएको एक सचिवालय सदस्यले बताएका छन् । बुधबारको बैठक नेकपाको महत्वपूर्ण ठानिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद चर्किएको छ ।

ओलीलाई ९ सदस्यीय सचिवालयका महासचिब विष्णु पौडेल, रामबहादुर थापा र ईश्वर पोखरेलले साथ दिँदै आएका छन् भने प्रचण्डलाई वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् । बुधबारलाई पार्टीको सचिवालय बैठक बोलाइएको छ भने बिहीबारका लागि स्थायी कमिटीको बैठक यसअघि नै तय भइसकेको छ । नेकपामा जतिजति पार्टी कमिटीका बैठक बस्ने छन् विवाद झन चुलिँदै जाने देखिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार ०७:१९