काठमाडौं । तीन दिदीबहिनीले आफ्नो पिताको हत्या गरिदिए । यस खबरले रुसभरि सनसनी मच्चायो । पिताको हत्या गर्दा एन्जेलिना १८, मारिया १७ र क्रिस्टिना १९ वर्षका थिए । घटना सन् २०१८ को जुलाई २७ मा भएको हो ।
मिखाइल खैचतूरयान नामक व्यक्तिलाई आफ्नै घरमा चक्कु र हतौडाले आक्रमण गरी नराम्रो घाइते बनाएपछि मृत्यु भएको हो । प्रहरीले हत्याको आरोपमा मिखाइलका तीन छोरीहरूलाई पक्राउ गरेको थियो । पितालाई किन मारेको भनी दिदीबहिनीलाई सोध्दा उनीहरूले दिएको जवाफले रुस मात्र नभई संसारलाई स्तब्ध बनायो ।
घटनाको दिन मिखाइलले तीनैजना छोरीलाई आफ्नो कोठामा बोलाए अनि भुइँ राम्ररी सफा नगरेको भन्दै गाली गरे र अनुहारमा खुर्सानी फ्याँके । त्यसको केही समयपछि मिखाइल सुते । अनि तीन दिदीबहिनीले उसमाथि चक्कु, हतौडा र खुर्सानीको धूलोले आक्रमण गरे । उसको शरीरमा चक्कुले गरेको आक्रमणको ३० वटा घाउ देखियो ।
त्यसपछि दिदीबहिनीले प्रहरीलाई कल गरे अनि उनीहरूलाई घटनास्थलबाट पक्राउ गरियो । प्रहरीले अनुसन्धान गर्दा मिखाइलले परिवारमाथि गरेको क्रूरताको इतिहास खोतलियो । विगत तीन वर्षदेखि मिखाइलले छोरीहरूलाई कुटपिट गर्ने गरेको, थुनेर राख्ने गरेको र यौन शोषण गर्ने गरेको थियो । दिदीबहिनीले पिताविरुद्ध अभियोगका लागि अनेकौं प्रमाण दिए ।
‘हाम्रा पिता विवाहेतर सम्बन्ध पाप हो भन्थे । तर हामी त उनका छोरी हौं । हामीलाई उनी शोषण गर्थे र हामीले चुपचाप स्वीकार गर्नुपर्थ्यो,’ क्रिस्टिनाले भनिन्, ‘उहाँसँग एउटा विशेष घन्टी थियो र उहाँ त्यो दिनरात जतिखेर पनि बजाउनुहुन्थ्यो । घन्टी सुन्नेबित्तिकै हामीमध्ये एक उपस्थित भइहाल्नुपर्थ्यो । अनि उहाँले जे चाहेको हो, त्यो दिइहाल्नुपर्थ्यो । खाना, पानी, सुख जे पनि । हामीले दासी जस्तो भएर सेवा गर्नुपर्थ्यो ।’
मिखाइलकी पत्नी अरेलियाले भनिन्, ‘पतिले मलाई कुट्ने गर्थे र यौन हिंसा पनि गर्थे ।’ सन् २०१५ मा मिखाइलले आफूलाई घरबाट निकालेको पनि अरेलियाले बताइन् । ‘मिखाइलले प्रहरीलाई चिनेका थिए । त्यसैले प्रहरीमा गएर उजुरी गर्नुको अर्थ थिएन । त्यसो गर्नु खतरनाक हुन्थ्यो,’ उनले भनिन् । आफूलाई घरबाट निकालिनुअघि नै पतिले छोरीहरूमाथि क्रुरता गर्ने गरेको उनले बताइन् ।
माहिली छोरी एन्जेलिना भन्छिन्, ‘सन् २०१४ मा मस्कोबाट आएपछि पिताले मलाई अनेकौं काम गर्न लगाए । उनले मेरा गुप्तांगहरू छोए । हप्तामा एकपटक वा बढी पनि यस्तो हुन्थ्यो । मैले दिदी र बहिनीलाई यो सुनाएँ । दिदी क्रिस्टिनाले पनि पिताबाट यौन शोषण भएको बताइन् । उसले एकपटक थुप्रो औषधि पनि खाएकी थिई ।’ दिदीबहिनीलाई आफ्नो जीवन नरक बनेको जस्तो लागेको थियो । उनीहरूले दुःखको सागरबाट निस्कने आशा नै गर्न सकेका थिएनन् ।
पिता सुतिरहेको बेलामा आफूहरूले चक्कु र हतौडाले हानेको उनीहरूले प्रहरीलाई बताए । विगत एक वर्षदेखि यी दिदीबहिनीलाई थुनामुक्त गर्नका लागि माग राख्दै जुलुसहरू भइरहेका छन् । मानव अधिकारकर्मीहरूले उनीहरूलाई अपराधी नभई पीडितका रूपमा हेर्नुपर्ने माग पनि राखे । पिताबाट आफूहरूले संरक्षण पाउनुपर्नेमा शोषण भएको र पिताले यस विषयमा कुनै सहायता नगर्ने भएकाले जघन्य कदम उठाउनुपरेको बताए । तर मानिसहरूको धारणा यसमा विभाजित छ । एकथरी मानिस यी किशोरीहरूले आत्मरक्षामा पिताको हत्या गरेको मान्छन् भने अन्य चाहिँ यो जानीबुझी गरिएको हत्या भन्छन् ।
सत्यपाटी ।