सूचनाको शक्ति - The Power Of Information

        

सालकसहित उपराष्ट्रपति पुनका सवारी चालक पक्राउ

बाँके । सालक बिक्री गर्न हिँडेका दुईमध्ये पक्राउ परेका एकजना उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको विशेष टोलीले गत बुधबार पोथी सालकसहित मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेको जनाएको थियो ।

पक्राउ परेका दुई जनामध्ये एक जना उपराष्ट्रपतिको चालक रहेको अनुसन्धानबाट खुलेको प्रहरी तथा वन कार्यालय स्रोतले जानकारी दिएको छ । पक्राउ परेकामध्ये सशस्त्र प्रहरीमा कार्यरत भीमबहादुर मगर उपराष्ट्रपति पुनको बहालवाला सवारी चालक भएको डिभिजन वन कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

यसअघि उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सवारी चालकका रुपमा कार्यरत रहेको बताइएको छ । यसबारेमा थप जानकारी माग्दा प्रहरी उपरीक्षक तारादेवी थापाले भने यसको अनुसन्धान वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने भएकाले यसबारेमा प्रहरीले थप अनुसन्धान नगरी कार्यालयलाई बुझाएको जानकारी दिइन् ।

अनुसन्धानको क्रममा पक्राउ परेकामध्ये भीमबहादुर मगर सशस्त्र प्रहरीका जवान रहेको र उनको साथबाट प्रहरीको परिचय पत्र बरामद भएको प्रहरीले जनाएको छ । सालकसहित प्रहरीले धादिङ शीतली गाउँपालिका–३ झार्लाङ्दी घर भई काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर र सोही ठाउँमा घरभई काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुरलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतवार ०९:११