बाँके । कोभिड–१९ का गम्भीर सङ्क्रमितलाई लक्षित गरेर यहाँस्थित भेरी अस्पतालमा ७० शैय्याको थप कोभिड वार्डको निर्माण अन्तिम चरणमा पुगेको छ । लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश गम्भीर अवस्थाका सङ्क्रमित आउन थालेपछि यहाँस्थित कोभिड–१९ विशेष अस्पतालको क्षमता विस्तार गरेर ७० शैय्या थप गर्ने कार्य भइरहेको छ ।
अस्पतालमा यसअघि ७० शैय्या सञ्चालनमा रहेको जनाउँदै कोभिड विशेष अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवले जिल्लामा सङ्क्रमित बढेका बेला र बाहिरी जिल्लाबाट धेरै सङ्क्रमित आउन थालेपछि क्षमता विस्तारको काम भइरहेको बताए । उनले शैय्या विस्तारको काम केही दिनभित्रै पूरा हुने र वार्डहरू सञ्चालनमा ल्याइने बताए ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बाँके, बर्दियालगायत यस क्षेत्रका अन्य धेरै जिल्लाबाट सङ्क्रमित उपचारका लागि आउने क्रम निरन्तर जारी रहेको बताए । अस्पतालमा ७० शैय्याको थप कोभिड वार्ड निर्माणपछि उपचारमा सहजता आउने बताए ।
उनले भने, ‘सिकिस्त बिरामीलाई व्यवस्थापन गर्ने स्थान अभाव भएपछि सबैको समन्वय र सहकार्यमा अस्पतालमा ७० शैय्याको थप कोभिड वार्ड निर्माण गर्ने कार्य भइरहेको छ । निर्माण सकिएपछि कोभिडका विरामीको उपचारमा सहजता आउनेछ ।’ जिल्ला समन्वय समिति र स्थानीय तहको एक करोड रुपैयाँको लगानीमा कोभिड वार्ड निर्माण भइरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, राप्तीसोनारी, डुडुवा, नरैनापुर, खजुरा र जानकी गाउँपालिका तथा जिल्ला समन्वय समितिको संयुक्त लगानीमा ७० शैय्याको उक्त कोभिड वार्ड निर्माण भइरहेको हो । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले कोभिड विशेष वार्ड निर्माणको काम अन्तिम चरणमा पुगेको देखिएको जनाउँदै यसबाट समग्र पश्चिम नेपालकै गम्भीर सङ्क्रमितले लाभ उठाउने बताइन् ।
सत्यपाटी ।