सूचनाको शक्ति - The Power Of Information

        

समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आज आइतबार बिहान सम्पन्न मतगणनाअनुसार प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

ढकालले एसोसिएटबाट ५२२, वस्तुगतबाट ५९ र जिल्ला/नगरबाट ५२ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी प्रधानले एसोसिएटबाट ३७४, वस्तुगतबाट ३९ र जिल्ला/नगरबाट ५३ मत प्राप्त गरे । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले यसका लागि मतदान भएन । शेखर गोल्छा स्वतः अध्यक्ष भएका छन् ।

सोहीबमोजिम नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकाल पनि अब ३ वर्षपछि स्वतः अध्यक्ष बन्नेछन् र गोल्छापछि (२०७९–२०८२) महासंघको नेतृत्व सम्हाल्ने छन् । शनिबार राति नै सार्वजनिक मत परिणाम अनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान प्यानलका अञ्जन श्रेष्ठ, जिल्ला/नगरतर्फ पनि प्रधान प्यानलकै दिनेश श्रेष्ठ र एसोसिएटतर्फ ढकाल पक्षका रामचन्द्र संघाई विजयी भएका छन् ।

प्रधान समूहका अञ्जन श्रेष्ठ ढकाल समूहका उमेशलाल श्रेष्ठलाई पराजित गर्दै वस्तुगततर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन् । उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गर्दा अन्जन श्रेष्ठले ६२ मत ल्याएर विजयी भएका हुन् । यस्तै जिल्ला/नगरतर्फ प्रधान प्यानलका दिनेश श्रेष्ठले चन्द्र ढकाल प्यानलका गुणनीधि तिवारीलाई पराजित गरेका हुन् । महासंघ निर्वाचन समितिले दिएको जानकारीअनुसार कूल १०५ मत खसेकामा श्रेष्ठले ५५ र तिवारीले ५० मत प्राप्त गरेका हुन् ।

यस्तै किशोर प्रधान समूहका सौरभ ज्योतिलाई २१ मतअन्तरले हराउँदै ढकाल पक्षका रामचन्द्र संघाई महासंघको एसोसियटतर्फ उपाध्यक्षमा विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए । महासंघको निर्वाचन अन्तर्गत जिल्ला/नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठान, एसोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतवार ०६:३५